उपत्यकामा निषेधाज्ञा नाममात्रको : आजदेखी के खुल्ने के नखुल्ने ?

मूलखबर संवाददाता
काठमाडौं, २५ भदौ ।

कोरोना भाइरस (कोभिड–१९) महामारी सङ्क्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा अब नाममात्रको निषेधाज्ञा बाँकी राखिएको छ । अब कायम रहने निषेधाज्ञामा लगभग सबै पसल व्यवसाय र सवारी सावधानी अपनाएर खुल्ने भएका छन् ।

जारी निषेधाज्ञा २४ गते बुधबार रातिबाट ३१ गते बुधबार रातिसम्म साविकभन्दा खुकुलो बनाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट र गृह मन्त्रालयबाट जारी सुरक्षा मापदण्ड तथा सामाजिक दूरीको पूर्ण पालना गर्न आग्रह गर्दै नयाँ व्यवस्था गरिएको हो ।
काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त छलफलपछि उपत्यकाभर लागू हुनेगरी लकडाउन खुुकुुलो बनाइएको हो । निषेधाज्ञाबाट जनजीवनमा परेको प्रत्यक्ष प्रभावमा ध्यान दिई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्धारण गरेको मापदण्ड अपनाई अधिकांश क्षेत्र सहज बनाइएकोे छ ।

गत भदौ ३ गते बुधबार रातिबाट जारी निषेधाज्ञा २० दिनको अवधिमा थप सहज बनाइएको थियो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अब सबै आफैँ सतर्क हुनुपर्ने बेला आएको बताउनुभयो ।
विषम परिस्थितिको मूल्याङ्कनपछि निषेधाज्ञा थप परिमार्जन गरी नागरिकको जीविका सहज बनाउन आवश्यक मापदण्ड तयार पारी उद्योग, कलकारखाना, व्यापार व्यवसायदेखि निजी तथा सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय भएको जानकारी उहाँले दिनुभयो ।

काठमाडौंका प्रजिअ दाहालले निषेधाज्ञा मात्रै संक्रमण रोकथाम तथा नियन्त्रणको उपाय नभएको र विस्तारै बन्द रहेका आर्थिक गतिविधिलाई सामान्यतर्फ ल्याउन निषेधाज्ञा खुकुलो पारिएको बताए । सरकारी कार्यालयमा स्वास्थ्य मापदण्ड पालना गरेर सार्वजनिक सेवा प्रवाहलाई सुचारु गर्दै लगिने उनले बताए । ‘हामीले उद्योगधन्दा, व्यापार–व्यवसायलगायत आर्थिक गतिविधिलाई सामान्य अवस्थातर्फ ल्याउन निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेका छौं, यसले जनजीविकासँग जोडिएका सबै क्षेत्रलाई सम्बोधन गर्नुका साथै जनजीवनलाई क्रमशः सामान्य अवस्थातर्फ लैजानेछ,’ दाहालले भने ।

‘तर सर्त र स्वास्थ्य मापदण्ड पालना नगर्नेको हकमा प्रशासन निर्मम हुन्छ । नियम पालना नगर्दा आफू मात्रै होइन, अरूलाई पनि हानि पुग्छ भन्ने हेक्का सबैले राख्नु जरुरी छ,’ उनले भने ।

कोरोना संक्रमणको दर बढ्दै गएपछि तीन जिल्लाका प्रशासनको संयुक्त बैठकले भदौ ३ बाट उपत्यकामा अत्यावश्यकबाहेकका सेवा सञ्चालनमा रोक लगाएको थियो । सुरुको दुई सातासम्म निषेधाज्ञालाई जनस्तरबाट सहजै लिइएकामा भदौ १७ पछि पनि मोडालिटीमा खासै परिवर्तन नगरिएपछि प्रशासनको निर्णयको विरोध सुरु भएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र निजी क्षेत्रका प्रतिनिधिले पनि स्वास्थ्य सावधानी अपनाएर आर्थिक कारोबारसँग सम्बन्धित क्षेत्रलाई सुचारु गर्नुपर्ने माग गरेका थिए । तर उपत्यका मेयर फोरम, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सरकारकै अन्य निकाय तत्काल निषेधाज्ञा हटाउने पक्षमा थिएनन् । फोरमले त निषेधाज्ञालाई कडाइ र उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालनको प्रस्ताव अघि सारेको थियो । तर, गृह मन्त्रालय र प्रजिअहरू नै त्यसको विपक्षमा थिए ।

के खुल्ने के नखुल्ने ?
अब कायम रहने निषेधाज्ञामा लगभग सबै पसल व्यवसाय र सवारी सावधानी अपनाएर खुल्ने भएका छन् ।
बैकिंग क्षेत्र खुलिसेका थिए अब सहकारीहरु पनि खुल्ने भएका छन् । सवारी साधनहरु पनि अब खुल्ने भएका छन् । तर शिक्षण संस्था लगायत भिड हुने स्थलहरु भने अझै बन्द रहने भएका छन् ।

सवारीमा जोर–बिजोर
स्वास्थ्य मापदण्डको पालनासँगै भौतिक दूरी कायम राखी बिहीबारदेखि जोर–बिजोर प्रणालीबाट निजी तथा सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय भएको छ । १६ सिटभन्दा बढी क्षमता भएका यातायातका साधन सञ्चालन गर्न पनि अनुमति दिइएको छ ।
यसका लागि कुल सिट क्षमताको आधा मात्र यात्रु राख्न पाइनेछ भने सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने छ । त्यस्तै भाडाका ट्याक्सीको हकमा चालकसहित तीन जना र परिवार भित्रकै बालबालिका भएमा थप दुई जनासम्म लैजान सकिनेछ ।
अत्यावश्यक तथा खाद्यान्न, तरकारी, फलफूल र माछामासु लगायत मालबाहक तथा ढुवानीका सवारी साधनको हकमा जोर–बिजोर प्रणाली लागू हुनेछैन । यस्ता सवारी साधनले चालक र सहयोगी सहचालक बाहेक अन्य व्यक्तिलाई बोक्न पाउनेछैनन् ।

किराना पसल बिहान र बेलुुका
उपत्यकामा सञ्चालित खाद्यान्न थोक तथा किराना, दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा–मासु लगायत पसल बिहान ५–११ बजेसम्म र साँझ ५–७ बजेसम्म खोल्न पाउने व्यवस्था लागू गरिएको छ ।
भौतिक पूर्वाधार तथा विकास निर्माण सामग्री, पसल तथा व्यवसाय लगायत ढुवानीका सवारी साधन दिउँसो २ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । त्यस्तै अनलाइन सेवा मार्फत वस्तु, परिकार तथा अन्य सेवा दिँदै आएका सवारी चालकका लागि मध्याह्न १२ देखि साँझ ७ बजेको समय निर्धारण गरिएको छ ।

बैङ्क तथा वित्तीय संस्था बिहान ११ देखि ३ बजेसम्म

बैङ्क तथा वित्तीय संस्था सञ्चालन गर्न बिहान ११ देखि ३ बजेसम्मको समय तोकिएको छ । विभिन्न सेवामा आबद्ध कर्मचारीका लागि बिहान ९ देखि १०।३० सम्म कार्यालय र अपराह्न ३।३० देखि बेलुकी ५ बजेसम्म घर फर्किसक्नुपर्ने व्यवस्था लागू गरिएको थियो ।

सपिङ मल, फेन्सी स्टोर सोमबार, बुधबार र शनिबार मात्र

विभिन्न सपिङ मल, फेन्सी स्टोर, जुत्ता, कपडा, कस्मेटिक पसल सोमबार, बुधबार र शनिबार मात्र खुल्न दिने निर्णय भएको छ । भाँडा र भान्साजन्य तथा सोही प्रकृतिका पसल सञ्चालन तथा व्यापार गर्न साताको आइतबार, मङ्गलबार र शुक्रबार छुट्याइएको छ ।

वर्कसप पसल बिहान ८ देखि राति ८ बजेसम्म

त्यस्तै काठजन्य वस्तु र अटोमोबाइल पसलका लागि सोमबार र बुधबार, फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रोनिक, डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म खुला रहनेछन् । सवारी साधन मर्मत सम्भार तथा वर्कसप पसल बिहान ८ देखि राति ८ बजेसम्म खुल्ने व्यवस्था मिलाइएको छ ।

उद्योग कलकारखाना सञ्चालन गर्दा कामदारको खाने बस्ने व्यवस्था अनिवार्य रूपमा उद्योग परिसरमा नै क्याम्प स्थापना गरी गर्नुपर्ने छ । कामदारको असुरक्षित ओसारपसार निषेध गरिएको छ । घर तथा भवन निर्माण कम्पनीले मजदुरको सम्पूर्ण व्यवस्था निर्माणस्थल परिसरमा नै मिलाउनुपर्ने छ ।

भीडभाड हुने स्थानमा बन्द

नागरिकको बाक्लो भीडभाड हुने क्षेत्र चलचित्र भवन, उद्यान पार्क, पार्टी प्यालेस, मठ मन्दिर, लामो दूरीका सवारी, सामूहिक भोज, पार्टी, जात्रा–मेला, सभा–जुलुस तथा भेला लगायतका कार्यक्रम निषेध गरिएको छ ।
मठमन्दिर, मस्जिद र चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलमा दैनिक नित्य पूजा बाहेक अन्य गतिविधिमा रोक लगाइएको छ । धार्मिक तथा सांस्कृतिक चाडवाडका नाममा जमघट, भेला रोकिएका छन् । खेलकुद, जिमखाना, स्विमिङ पुल, मसाज पार्लर, सैलुन, स्पा, प्रदर्शनी चिडियाखाना लगायत नागरिकको बाक्लो उपस्थिति रहने स्थान बन्द गरिएका छन् ।