क्रिकेट प्रशिक्षक नूर मोहम्मदलाई स्पट फिक्सिङ अभियोगमा ५ वर्षको प्रतिबन्ध

मूलखबर संवाददाता
काठमाडौं, २४ भदौ ।

अफगानिस्तान क्रिकेटका एक जना कनिष्ठ प्रशिक्षकमाथि पाँच वर्षको प्रतिबन्ध लगाइएको छ । अफगानिस्तानको प्रतिष्ठित शपागिजा क्रिकेट लिगमा ‘स्पट फिक्सिङ’को प्रयास गरेको भन्दै प्रशिक्षक नूर मोहम्मदमाथि पाँच वर्षको प्रतिबन्ध लगाइएको हो ।

घरेलु क्रिकेटमा सहायक प्रशिक्षक रहेका मोहम्मदले लिगको सन् २०१९ को संस्करणमा एकजना खेलाडी समक्ष स्पट फिक्सिङको प्रस्ताव राखेका थिए । खेलाडीले भने क्रिकेट अधिकारीहरुलाई उक्त प्रस्ताबबारे जानकारी गराएपछि अनुसन्धान सुरु गरिएको थियो ।

अनुसन्धानको क्रममा नूर मोहम्मदले आफ्नो कमजोरी र गलती स्वीकार गरेपछि सुनुवाई आवश्यक नहुँदै दोषी ठहर गरिएका हुन ।
अफगानिस्तान क्रिकेट बोर्डले एक वक्तब्य जारी गरी सहायक प्रशिक्षकले आफ्नो गलती स्वीकार गरेपछि उहाँमाथिको प्रतिबन्धमा भारी कटौती गरिएको जनाएको छ ।

क्रिकेट बोर्डका वरिष्ठ एन्टी करप्सन ब्यवस्थापक सैयद अनवर शाह कुरैशीले भन्नुभयो, “प्रतिष्ठित घरेलु लिगमा सहायक प्रशिक्षकद्वारा राष्ट्रिय खेलाडी समक्ष स्पट फिक्सिङको प्रस्ताव राख्नु अत्यन्तै दुखद र गम्भिर अपराध हो ।” उहाँले उक्त गतिविधिबारे सूचना दिने खेलाडीलाई धन्यवाद दिनुका साथै प्रशंस गर्नुभएको छ ।