
साउदीमा नेपालीको विजोग : उडान न्युन, टिकट लिनेको भिड बढेपछि टिकट काउण्टर नै बन्द
साउदी अरेबियामा अलपत्र परेका नेपालीहरू स्वदेश फिर्ता हुन निकै कठिन भएको छ। साउदीका लागि नेपाल सरकारले निर्धारण गरेको नेपाल एयरलाइन्स र हिमाल एयरलाइन्स चार्टर उडानबाट नेपालीलाई स्वदेश फिर्ता ल्याउने काम भएता पनि हजारौँ नेपाली हवाई टिकट नपाएर अलपत्र परेका छन्।
दूतावासले रियाद र वाणिज्य दूतावास जेद्धाले स्वदेश फिर्ता हुने २३ हजार ५सय जनाको नामावली सार्वजनिक गरेका थिए । यसका साथै हवाई टिकटका लागि सम्बन्धित ट्राभल एजेन्सीलाई सम्पर्क गर्न जानकारी गराए पनि अहिलेको अवस्थामा हवाई टिकटको व्यवस्थापन गर्न निकै गाह्रो भएको देखिन्छ भने हवाई टिकट व्यावस्थापन गर्ने ट्राभल एजेन्सी कार्यालय नै वन्द रहेको अवस्था छ।
हिमालय एयरलाइन्सका साउदी अरेविया प्रतिनिधि (कन्ट्री म्यानेजर) सुवास तिमल्सिनाका अनुसार नेपाल फर्किन चाहने नेपालीको अनुपातमा धेरै कम मात्रामा उडानको व्यवस्था हुँदा साउदीको दम्मामबाट उडान गरिरहेको हिमालयन एयरलाइन्सको दम्माम स्थित कार्यालयमा हवाई टिकटका लागि यात्रुको भीड लागेको छ । भीड नियन्त्रण बाहिर जाँदा स्थानीय नगरपालिका (बलादिया)ले कार्यालय नै बन्द गरिदिएको छ । साउदी सरकारको कानुन पालना गरी आवश्यक प्रक्रिया पूरा गरी काम गर्दा गर्दै पनि महामारीको समयमा भएको अनियन्त्रित भीडको कारणले यो अवस्था आएको हो । यस अवस्थालाई मध्यनजर गरी थप उडान व्यवस्थापन लागि गर्न सम्बन्धित सरोकारवालाले ध्यान दिनुपर्न नेपालीले बताएका छन् ।
हिमालयन एरलान्सले १८ जुन देखि हालसम्म दम्माम शहरबाट १९ र रियाद शहरबाट २ गरी २१ चार्टर उडान गरेको छ।
साउदी अरेबियाको रियाद शहर स्थित समासको कम्पनीमा कार्यरत १२०० सय भन्दा बढी नेपाली स्वदेश फिर्ता हुनबाट वन्चित भएका छन् । उनीहरूको करार अवधि सकिएर ६ महिना पूरा हुँदा पनि कम्पनीले आवश्यक प्रक्रिया पूरा नगरेको भनी कार्यरत कम्पनी र निजी क्षेत्र आसपास प्रदर्शन गर्दै दूतावास र नेपाल सरकारविरुद्ध नारावाजी समेत गरे । साउदीस्थित नेपाली राजदुतावासका राजदूत डा।महेन्द्र राजपूत सिंहले राजदूतावास महिनौ देखि दैनिक रूपमा सम्पर्कमा रहेको बताएका छन् । साथै सम्बन्धित सबै पक्षसँग छलफल गरी पीडित नेपालीसँग आवश्यक कुराकानी गरी समस्यालाई छिट्टै समाधानमा ल्याउने आश्वासन दिएका छन्।
साउदीमा रहेको सामाजिक संस्था नेपाली साझा मञ्चले विज्ञप्तिमार्फत कोरोना महामारीका कारणले समयमा नै स्वदेश फिर्ता हुन नपाउँदा नेपालीलाई तत्काल स्वदेश फर्कने वातावरण बनाउन माग गरेका छन् । राजदूतावास रियाद र वाणिज्य दूतावास जेद्धाले तत्काल कुटनैतिक पहल र नेपाल सरकारसँग समन्वय गरी नियमित उडानको व्यवस्था गरी अलपत्र नेपालीलाई स्वदेश फर्काउन आग्रह गरेको छ।
कोरोनाको असरसँगै कतिपय कम्पनी बन्द छन् । हजारौं नेपालीले रोजगारी गुमाउने पर्ने अवस्थामा छन्। विविध कारणले अहिले तत्काल साउदीबाट ३० हजार भन्दा बढी नेपाली स्वदेश फिर्ताका लागि तयार अवस्थामा छन् । हालसम्म ९ हजार नेपाली चार्टर उडानबाट स्वदेश फिर्ता भएका खबर अन्नपूर्णमा घिमिरेले लेखेका छन् ।
