निषेधाज्ञा खुकुलो, सवारी जोर विजोर, पसल खुल्ने, शिक्षणसंस्था, मनोरञ्जनस्थल नखुल्ने

मूलखबर संवाददाता
काठमाडौं, २४ भदौ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण नियन्त्रण र रोकथामको लािग जारी गरिएको काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो भएको छ । निषेधाज्ञाको नाम चाहिँ रहने तर जनजीवनलाई सहज बनाउने गरी नयाँ मापदण्ड बनाउन तीन जिल्लाका सिडिओहरुले प्रस्ताव गृह मनत्रालयमा पठाइसकेका छन् ।

लकडाउनको मोडालिटी परिवर्तन गरेर अनुमोदनका लागि मंगलबार नै तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमोदनका लागि गृहमन्‍त्रालयमा पठाएकामा गृहबाट अनुमति आउनसाथ बुधबार साँझसम्म तीनै जिल्ला खुकुलो व्यवस्थासहितको निषेधाज्ञा जारी गर्नेछन्।

निषेधाज्ञापछि पनि उपत्यकामा स‌ंक्रमण घटेको छैन। अहिले काठमाडौंमा दैनिक चार सयको हाराहारीमा संक्रमित थपिएका छन्। कुल संक्रमितको संख्या ४८ हजार नाघिसकेको छ।

नयाँ व्यवस्था अनुसार निजी सवारीलाई जोर विजोर चल्न दिने, दैनिक उपभोग्य समानका पसल पनि समय तोकेर सञ्चालन गर्ने तथा निजी कार्यालय, उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने गरी निषेधाज्ञाको नयाँ मोडल प्रस्ताव गरिएको छ। तर होटल रेष्टरेन्ट,सिनेमा हल, क्लब तथा अन्य मनोरञ्‍जन स्थल भने खुला गरिने छैन।

मंगलबार काठमाडौं उपत्यका नगरपालिका मेयर फोरम, उद्योगी सुरक्षा निकायसँग भर्चुअल छलफलपछि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञाको बिषयमा औपचारिक छलफल गरेर गृहसमक्ष खुकुलो पार्न प्रस्ताव गरेका हुन्।

निरन्तरको लकडाउन समाधान नभएको तर्क गर्दै उद्योगी तथा व्यवसायीले निषेधाज्ञा खकुलो नबनाए अवज्ञा गर्ने चेतावनी दिदै आएका छन्। मेयर फोरमको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका सबै नाकामा सेनासहितको कडा सुरक्षा व्यवस्था गरेर उपत्यकाभित्रको निषेधाज्ञालाई विस्तारै खोल्नुपर्ने सुझाव दिएको थियो।

झन्डै चार महिना लामो लकडाउन साउनेदेखि अन्त्य गरिए पनि भदौंदेखि निषेधाज्ञा सुरु भएको थियो। उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले भदौ २ गतेको पहिलोपटक एक हप्ताका लागि निषेधाज्ञा जारी गरेका थिए। भदौ १० गतेको निर्णयानुसार यही भदौ १७ गते राति १२ बजेसम्मका लागि उक्त आदेशलाई निरन्तरता दिइएको थियो। त्यसलाई कायम राख्दै भदौं १७ गते फेरि भदौं २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो।