नेकपाको स्थायी समिति बैठक भदौ २६ गते : एजेण्डाबारे दुई अध्यक्षबीच छलफल
सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक भदौ २६ गते बस्ने तय भएसँगै यसका एजेण्डाबारे गृहकार्य शुरु भएको छ ।
पार्टीभित्र आन्तरिक विवादका कारण विगत लामो समयदेखि स्थगित भई अनिश्चित बनेको स्थायी कमिटी बैठक दुई अध्यक्षबीचको समझदारीमा हिजो तय भएको हो । दुई अध्यक्षले बनाएको विवाद समाधान कार्यदलको प्रतिवेदनपश्चात बसेको सचिवालय बैठकले स्थायी समिति बैठकको मिति र एजेण्डा तय गर्ने जिम्मा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । सोही निर्णयअनुसार स्थायी समिति बैठकमा पेश हुने प्रस्तावको गृहकार्य गर्न अध्यक्षद्वय छलफलमा जुट्नुभएको सचिवालय स्रोतले बताएको छ ।
स्थायी कमिटीको बैठक शुक्रबार २६ गतेका लागि तय गरिएकाले दुई अध्यक्षले बैठकको प्रस्ताव तयारीबारे छलफल गरिरहनुभएको छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदन र त्यसमा परिमार्जन गरिनुपर्ने विषय समेतमा दुई अध्यक्षबीच छलफल भइरहेको छ । महासचिव विष्णुप्रसाद पौडेल संयोजकत्वको ६ सदस्यीय कार्यदलले आठ दिन लगाएर १६ पृष्ठको प्रतिवेदन बुझाएको थियो ।
स्थायी समिति बैठकमा प्रधानमन्त्री र अध्यक्ष पदबाट ओलीले राजीनामा दिनुपर्ने विषय नउठ्ने भएपछि अब सरकारको समिक्षा, कोभिड नियन्त्रणको लागि गर्नुपर्ने कामहरु, मन्त्रीपरिषदको हेरफेर गर्ने विषय, पार्टीको सम्पूर्ण कामको जिम्मा प्रचण्डलाई दिने गरी कार्यकारी अध्यक्षको कार्यन्वयन, प्रधानमन्त्री ओलीलाई बाँकी कार्यकाल प्रधानमन्त्री नै बनाउने कार्यदलको प्रतिवेदनका विषयहरु समेटिने छन् ।
त्यसैगरी स्थायी समिति बैठकले आगामी चैतमा महाधिवेशन गर्ने गत केन्द्रीय समितिको बैठकको निर्णयलाई कार्यान्वयन गर्न तयारी थाल्ने र देशव्यापी अभियान सञ्चालन गर्ने विषयमा पनि निर्णय लिने बतायइएको छ ।