घरभाडा मिनाहा गर्न व्यवसायी महासंघकाे माग

मूलखबर संवाददाता
काठमाडौं, २३ भदौ

मुलुकभर बढ्दै गएको कोरोना सङ्क्रमणका कारण सरकारले गरेको लकडाउन र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले माग गरेको छ ।

महासङ्घका अध्यक्ष नरेश कटुवालले मंगलबार विज्ञप्ति जारी गरी झन्डै छ महिना लामो लकडाउन र निषेधाज्ञाबाट उद्योग–व्यवसाय क्षेत्र धरासायी बन्दै गएको भन्दै लकडाउन र निषेधाज्ञा अवधिभरको घरभाडा मिनाहा गर्न माग गरेका हुन् । ‘लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्था समेतको व्याज पूर्णरूपमा मिनाहा गर्न र कोभिड– १९ बाट प्रभावित उद्योगी, व्यापारी बचाउनका लागि पाँच प्रतिशत ब्याजदरमा विनाधितो ऋण उपलब्ध गराउन माग गर्दछौं’– अध्यक्ष कटुवालले विज्ञप्तिमा लेखेका छन् ।

एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनर तुरुन्त ल्याउने पहल गर्न समेत महासङ्घले माग गरेको छ । निजी क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गर्दै साना तथा मझौला उद्योगी–व्यवसायीको समेत सहभागितामा सरकारले समन्वय समिति गठन गर्नुपर्ने महासङ्घले बताएको छ । २०७३ मा स्थापना भएको महासङ्घमा देशभरका दुई दर्जनभन्दा बढी व्यवसायी संस्था आबद्ध रहेका छन् ।