निषेधाज्ञा ताेडेर भदौ २५ गते देखि सम्पूर्ण व्यवसाय सञ्चालन गर्ने नाडाकाे घाेषणा
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २५ गते देखि सम्पूर्ण व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।
नाडाको आज सोमबार बसेको पदाधिकारी बैठकले भदौ २४ गते सम्म निषेधाज्ञाको समय रहेकोले २५ गते देखि नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको हो।
नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले १ सय ८० दिन सम्म सरकारको आदेश मानेर बसेको अवस्थामा अव हुने लकडाउनको पालना नगर्ने गरी सबै व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको बताए।
नले सरकारले देशको अर्थतन्त्रलाई बुझेर व्यवसाय गर्न पाउनेगरी सहजिकरण गर्नुपर्ने बताए। सरकारले त्यस्तो व्यवस्था नगरेपनि निषेधाज्ञालाई तोडेर अथवा विद्रोह गरेर भएपनि व्यवसाय सञ्चालन गर्ने बताए।
उनले भने, ‘सरकारले बुझेर लकडाउनलाई केही न केही सहजिकरण भन्दा पनि पुरै व्यवसाय गर्न पाउने गरी सहजिकरण गरेर अगाडि बढ्न पर्छ। यदि गरेन भनेपनि यो निषेधाज्ञा तोडिन्छ, जनताले विद्रोह गर्छन, व्यवसायीले विद्रोह गर्छन्। यो कसैले पनि मान्ने वाला छैन त्यसकारण कसैले पनि नमान्ने खालको नियम ल्याउनु भनेको यो ठिक हुँदैन सरकारले बुझ्नुपर्छ।’
उनले सरकारी कर्मचारीहरुले काम नगरेपनि तलब भत्ता आइराख्ने भएकाले कोरोना संक्रमण देखिए देखि नै लकडाउन गर्नुपर्छ भनिरहेको भन्दै असन्तुष्टि व्यक्ति गरे। व्यवसायी र उद्योगपतिहरु बाहेक कसैले पनि लकडाउनको विरोध नगरेको पनि दुलाले बताए। घरमै बसिबसि तलब भत्ता आउने भएपछि किन लकडाउन खोल्ने भन्ने मानसिकता कर्मचारी र राजनीतिज्ञहरुमा रहेको दुलालको भनाई छ।
नाडाले सोमबार जारी गरेको विज्ञप्तिमा सरकारले संक्रमणबाट बच्ने सुरक्षात्मक उपायको कडाइसाथ पालना गराउँदै उद्योग व्यवसाय सञ्चालन गर्न आवश्यक वातावरण बनाउन आग्रह गरिएको छ ।
‘अब जनता स्वयं नै आफ्नो दु:ख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना प्रबल हुँदै गएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो विकट स्थिति आउनुअघि नै सरकारले जारी निषेधाज्ञाबारे पुनर्विचार गर्न हामी सरकारसँग हार्दिक अपिल गर्दछौं ।’
लकडाउनले देशको अर्थतन्त्रलाई धराशायी बनाउने मात्र नभई बेरोजगारीको भयावह समस्यासमेत उत्पन्न भएको नाडाले भनाइ छ । यस्तो अवस्थामा निषेधाज्ञाको अवधि थपिँदै जाँदा समस्या थप भयावह हुने निश्चित रहेको विज्ञप्तिमा उल्लेख छ ।