अल्का अस्पतालकी कर्मचारीको हत्या भतिजाबाटै भएको पुष्टि
ललितपुर अल्का अस्पतालमा कार्यरत कर्मचारी गीता केसीको हत्याको संलग्न भएको आशङ्कामा उहाँका भतिजा निर्मल केसीलाई प्रहरीले प्रक्राउ गरेको छ ।
निर्मललाई ललितपुरकोे भैँसीपाटी घरबाट प्रक्राउ गरेर अनुसन्धानको लागि चापागाउँ प्रहरी कार्यालय पठाइएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिनुभयो ।
अनुसन्धानमा ३९ वर्षीया गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान छ । उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जङ्गलमा भेटिएको हो ।
हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ । मृतक केसीको शरीरमा धेरै चोटपटक देखिएको छैन ।
भदौ १७ गते भतिजा निर्मलसँग अफिस जान्छु भनेर हिँडेकी गीता राति अबेरसम्म घर नआएपछि अर्को दिन उहाँको परिवारले हराएको भनी प्रहरीमा निवेदन दिइएका थिए ।प्रहरी कार्यालयमा निवेदन आएसँगै गीताको खोजीको लागि प्रहरी अनुसन्धान सुरु गरेको थियो ।
हिजो शुक्रबार बेलुका ७ बजेतिर स्थानीय बासिन्दाले अल्का अस्पतालको परिचय पत्रसहित लास देखेको खबर गरेपछि प्रहरी त्यस घटनास्थल तर्फ गएको एसएसपी राई बताउनुहुन्छ ।
मृतक गीताका दुई बच्चा छन् । गीता अल्का अस्पतालमा ‘हाउस किपर’ को रुपमा काम गर्नुहुन्थ्यो । भतिजा निर्मल केसी र उहाँबीच केही वर्षदेखि निकट सम्बन्ध रहेको प्रहरी अधिकारी बताउँछन् । निर्मल मृतक गीताको घरमा आउने जाने गर्थे । उनीहरूबीच अरु के –कस्तो सम्बन्ध थियो भन्ने बारेमा अनुसन्धानबाट थाहा हुने ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राई बताउनुहुन्छ । –गोरखापत्रबाट