काठमाडौं उपत्यकामा ४सय ८ सहित देशभर थपिए १०४१ संक्रमित, निको ६० प्रतिशत

मूलखबर संवाददाता
काठमाडौं, २० भदौ ।

नेपालमा कोभिड–१९ का एक हजार ४१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट थप एक हजार ४१ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितमध्ये ३४९ महिला र ६९२ जना पुरुष छन् ।

पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४५ हजार २७७ पुगेको छ ।
मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङको क्रममा काठमाडौँ उपत्यकाको तीन जिल्लामा ४०८ सहित देशभरि सङ्क्रमित थपिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।  हाल १७ हजार ८७० जनामा कोभिड–१९ का सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा १२ हजार ४७३ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित निको भएर घर फर्केका छन् । प्रवक्ता डा। गौतमले पछिल्लो चौबीस घण्टामा एक हजार ५६६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

एकैपटक उच्च सङ्ख्यामा सङ्क्रमित कोभिड–१९ बाट मुक्त भएसँगै निको हुन दर ६० प्रतिशत पुगेको छ । हालसम्म २७ हजार १२७ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केका छन् ।