कोरोना विरुद्ध रुसी खोपले दियो सकारात्मक परिणाम, एक वर्षमा ५० करोड डोज उत्पादन गर्ने
रुसमा विकास गरिएको कोभिड(१९ विरुद्धको खोपको पछिल्लो ७६ जनामा गरिएको परीक्षणबाट निकै सकारात्मक परिणाम देखापरेको रुसी अधिकारीहरूले बताएका छन् ।
बीबीसीका अनुसार सो खोपको परीक्षण जुन र जुलाइमा सुरु गरिएको र त्यसमा दुई पटकमा हरेक समूहमा ३८ जना स्वस्थ व्यक्ति समावेश गरिएको थियो । उनीहरूलाई पहिलो पटक सो खोप दिनुका साथै त्यसको तीन हप्तापछि बुस्टर डोज दिइएको थियो । सो खोपको परीक्षणमा १८ देखि ६० वर्ष उमेर समूहका व्यक्ति समावेश थिए र उनीहरूलाई खोप दिइएको ४२ दिनपछि परीक्षण गर्दा सबैको तीन हप्ता भित्रैमा रोगसँग लड्ने एन्टिबडी पैदा भइसकेको थियो । अध्ययनका क्रममा सबैमा टाउको दुख्ने र जोर्नी दुख्ने जस्ता साइड इफेक्ट भने पाइएको थियो र अन्य कुनै गम्भीर साइडइफेक्ट थिएन ।
हालै दि लेनसेट नामक जर्नलमा प्रकाशित रिपोर्टमा सो खोपले बलियो प्रतिरोधी क्षमता विकास गरेको उल्लेख गरिएको छ । सो खोपका विषयमा पर्याप्त अध्ययन नपुगेको र यसलाई अझै धेरै मानिसमा परीक्षण गरिनुपर्ने बेलायतको इम्पेरियल कलेजका एक्सपेरिमेन्टल मेडिसिनका प्राध्यापक पिटर ओपेन्सोले बताउनुभएको छ ।
सो खोपको परीक्षण रुसी राष्ट्रपति भ्यादिमिर पुटिनको छोरीमा पनि गरिएको र उनले राम्रो अनुभव गर्नुका साथै उनमा धेरै मात्रामा एन्टिबडी उत्पन्न भएको पुटिनले जानकारी गराउनुभएको समाचारमा जनाइएको छ ।
सो खोप मुख्य रुपमा निशर्त सुरक्षित हुनुका साथै भविष्यमा प्रभावकारी हुनुपर्नेछ । रुसले सो खोपको ठूलो सङ्ख्यामा यही सेप्टेम्बरमा उत्पादन थाल्ने र एक वर्षमा ५० करोड डोज उपलब्ध गराउन सकिने बताइएको छ ।
सो खोपबारे अमेरिकी ब्राउन युनिभरसिटीको जनस्वास्थ्य विभागका डिन आषिस झाले सो खोप सुरक्षित छ र त्यसले काम गर्छ गर्दैन भन्ने आफूहरूलाई ज्ञान नभएको बताउनुभयो ।
(बीबीसीमा प्रकासित समाचारमा आधारित)