पुल्चोक भिड नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना, संक्रमण भयावह हुन सक्ने !
ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा भएको झडप र भिड नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना देखिएपछि यस विषयले उपत्यकामा कोरोना भाइरसको संक्रमणमा कस्तो भुमिका खेल्छ भन्ने तरंग प्रदा भएको छ ।
झडप हुँदा खटिएका १८ प्रहरीमा भोलिपल्ट कोरोना पुष्टि भएको रिपोर्ट आएको हो । महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत ९ जनालाई कोरोना संक्रमण देखिएपछि बुधबार ६८ जनाको स्बाव संकलन गरिएको थियो ।
रथ तान्ने क्रममा झडप भएपछि वृत्तका डीएसपी मित्रबन्धु शर्माको नेतृत्वमा स्वाब दिएका प्रहरीहरु झडप स्थल पुगेका थिए । उनीहरुमध्येकै प्रहरीमा कोरोना पुष्टि भएपछि सो कोरोना भिड नियन्त्रणमा खटिएका अन्य प्रहरी र भिडमा उपस्थित सर्वसाधारणमा पनि संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ ।
भिडमा को कोलाई उनीहरुले सम्पर्क गरे भनेर कन्ट्राक्ट ट्रेसिंग गर्न नसकिने विज्ञहरु बताउँछन् । यदि उनीहरुबाट भिडमा कोरोना संक्रमण सरेको रहेछ भने त्यसले भयावह रुप लिन सक्ने देखिन्छ । तथापी डिएसपी शर्माले भने आफ्नो नेतृत्वको टोली प्रत्यक्ष भिड नियन्त्रणमा खटिएको र स्वाब दिएका इन्स्पेक्टरसहितको अरु टोली व्याक फोर्समा बसेको तर्क दिएका छन् । ‘उनीहरुलाई झडपमा प्रयोग गरेनौं,’डीएसपी शर्माले भने । उनले स्वाब दिएका टिमलाई प्रयोग नगरेको बताए पनि शुक्रबार पोजिटिभ देखिएका प्रहरी निरीक्षक भने घाइते भएका थिए । उनको खुट्टामा चोट लागेको थियो ।
गाडीबाट बाहिर निस्केर बस्दा प्रदर्शनकारीले ढुंगा हानेर घाइते भएको हो । झडपमा घाइते भएको होइन, डीएसपी शर्माले भने ।
तर पनि प्रहरीको समुह भने सामाजिक दुरी कायम नगरी बसेको र भिड पनि सामाजिक दुरी कायम नगरेको स्पष्टै देखिन्थ्यो । यस्तो अवस्थामा उनीहरुबाट अन्यमा सरेन भन्न सकिने आधार छैन । तसर्थ सो घटनाबाट समुदायमा कोरोनाको संक्रमण भयावह तबरले फैलिन सक्ने खतरा देखिएको छ ।