ढोरपाटन बाढीपहिरो : बेपत्ता ४१ मध्ये १४ शव फेला, २४ वेपत्ता, ३ सकुशल, गृहमन्त्रीसहितको टोली घटनास्थलमा
बागलुङको ढोरपाटनमा भुजुखोलामा आएको बाढी र पहिरोमा बेपत्ता रहेका ४१ जना मध्ये ३ जना शकुशल सम्पर्कमा आएका छन् भने १४ जनाको शव फेला परेको छ । उक्त घटनामा परी हराइरहेकामध्ये २४ जना अझै बेपत्ता छन् ।
घटनास्थलमा गृहमन्त्री रामबहादुर थापासहितको टोली पुगेको छ । काठमाडौंबाट राहत सामग्रीसहित लिएर गएको गृहमन्त्रीको टोली हिजो मौसमी खराबीको कारणले घटनास्थल पुग्न नसकि नजीकैबाट पोखरा फर्किएको थियो ।
आज पुन गृहमन्त्रीसहितको टोली घटनास्थल पुगी निरिक्षण गर्नुका साथै जीवित स्थानियहरुसँग भेटघाट गर्नुका साथै मृतकका परिवार, घाइतेलाई राहत वितरण गरेको छ ।
गृहमन्त्रीको टोलीमा बागलुङ २ का संघिय सांसद देवेन्द्र पौडेल, गण्डकी प्रदेशका मन्त्रीहरुलगायत सहभागि रहेका छन् ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, जिल्ला सदरमुकामदेखि गएका युवाहरूले बिहीबार दिनभर र शुक्रबार बिहानसम्म बेपत्ताको खोजी गर्दा पनि थप बेपत्ताहरु भेटिएका छैनन् ।
जे जति भेटिएका छन्, सबै मृत अवस्थामा फेला परेका छन् । मृतकको शव कसैको आफ्नै घर छेउमा भेटिएको छ भने कसैको खोलाले बगाउँदा गुल्मीको मुसिकोट नगरपालिका–५ इन्द्रगौडा पुर्याएको अवस्थामा भेटिएको छ ।
मृत अवस्थामा फेला पर्नेहरूको कसैको खुट्टा, कसैको कम्मरसम्मको भाग त कसैको हात, कसेको टाउको मात्रा फेला पर्दा स्थानीय तथा प्रहरीलाई शव पहिचानमा कठिन भएको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।
प्रहरीले १४ जनामध्ये चार जनाको मात्र सनाखत गरेको छ । प्रहरी निरीक्षक भण्डारीका अनुसार ढोरपाटन–९ भट्टेचौरकी २६ वर्षीया केशमाया विक, लाकुरीबोटका ४६ वर्षीय करबहादुर विक उनका नौ वर्षीय छोरा दलु विक र २५ वर्षीय जीवन विकको पहिचान भएको हुँदा जनाको शव आफन्तले बुझिसकेका छन् ।
अन्य दश जनाको सनाखत हुन सकेको छैन । उनीहरूको शव प्राथमिक स्वास्थ्य चौकी बुर्तिवाङमा राखिएको छ ।
गृहमन्त्री थापाले घटनाप्रति दुःख व्यक्त गर्दै बेपत्ताहरुको खोजी अभियानलाई तिब्र पार्न र बस्ती स्थानान्तरणको लागि तत्काल पहल गर्न स्थानिय प्रशासनलाई निर्देशन दिएका छन् ।