नेकपाको सचिवालय बैठक बालुवाटारमा, एजेण्डा कोभिडदेखि बामदेबसम्म

मूलखबर संवाददाता
काठमाडौं, १८ भदौ ।

सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।
पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा शुरु भएको बैठकमा पार्टीको विवाद समाधानको लागि बनाइएको कार्यदलले पेश गरेको प्रतिवेदन र राष्ट्रिय सभामा रिक्त सदस्यमा पठाउने पात्रबारे छलफल हुने बताइएको छ ।

सचिवालय बैठकअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो।

बैठकमा यस अघि स्थगित भएको स्थायी समिति बैठक सुचारु गर्ने र कोरोना महामारी नियन्त्रण लगायतका एजेण्डामा छलफल हुने बताइएको छ ।

यस अघि नै सचिवालय बैठकले राष्ट्रियसभामा मनोनित गर्ने एक सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने भनी गरेको निर्णय कार्यान्वयन गर्ने वा अर्थमन्त्री डा। युवराज खतिवडालाई नै गर्ने भन्ने विषयमा प्रधानमन्त्री केपी ओली र प्रचण्डलगायतका नेताहरुबीच सहमति बनेको छैन । यहि भदौ २० गतेसम्म मात्रै समयावधि रहेका अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिन उनलाई सदस्य बनाउनै पर्ने बाध्यता छ भने उनलाई राष्ट्रिय सभाको सदस्य नबनाएमा उनको मन्त्रीपद भदौ २० गतेबाट गुम्ने निश्चित छ ।

गौतमले आफूलाई सिफारिश गर्ने पहिलेको निर्णय कार्यान्वयन हुनुपर्ने माग गरेका छन् भने खतिवडालाई नै निरन्तरता दिने प्रधानमन्त्रीको चाहना सार्वजनीक रुपमै अभिव्यक्त भइरहेको छ । बामदेवलाई पठाउने निर्णयको पक्षमा सचिवालयका अन्य नेताहरु पनि दृढ रहेको बुझिएको छ ।