
बीर अस्पताल अब कोभिड अस्पताल बनाउने, बीरको सेवा अब ट्रमाबाट दिइने
सरकारले वीर अस्पताललाई कोभिड अस्पताल बनाउने भएको छ। बीर अस्पतालका ७१ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि सर्वसाधारणको लागि अस्पतालको सम्पूर्ण सेवा २ दिनको लागि बन्द गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहित बुधबार बसेको बैठकले अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको हो।
छलफलमा सहभागी अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले पनि संक्रमण बढेकाले संक्रमितको उपचार गर्न अस्पताललाई कोभिड अस्पताल बनाइने निर्णय भएको जनाए। बीर अस्पताललाई कोभिड अस्पताल बनाउने भएपछि बीरबाट दिइने ओपिडि सेवा ट्रमा सेन्टरबाट दिइने भएको छ । यस अघि ट्रमा सेन्टरमा विशेष र गम्भीर प्रकारका चोटपटकलगाएतको उपचार हुने गरेको थियो ।
उनले सुरूमा १ सय १० संक्रमितको उपचार गर्ने गरी पूर्वाधार तयार गरिने बताए। अहिले झण्डै ६५ जना संक्रमितको उपचार भइरहेको छ। अब एक दुई दिनमै १ सय १० बेडको क्षमता बनाउँछौ, उनले भने, पछि विस्तार गर्दै कम्तिमा ३ सय क्षमता पुर्याउने भन्ने हो।
अहिले अन्य बिरामीको चाप घटेको भन्दै अब ओपिडी लगायतको सेवा ट्रमा सेन्टरबाट दिइने निर्देशक सेन्चुरीले बताए। डायलासिस सेवा भने वीर अस्पतालबाटै दिइने भएको छ। निर्देशक सेन्चुरीले भने, कोभिड भन्नेबित्तिकै पूरै संक्रमितको मात्र उपचार गर्ने भन्ने हैन। डायलासिस, नेफरोलोजी सेवा यहीँबाट दिइन्छ ।
यसअघि टेकु, पाटन र एपिएफ अस्पताल मात्र कोभिड विशेष अस्पताल रहेकोमा गत साता मात्र सरकारले काठमाडौंको जनमैत्री र कान्तिपुर अस्पताललाई पनि कोभिड अस्पताल तोकेको हो।
