निषेधाज्ञा उलंघन गर्दै सयौंले ताने मच्छिन्द्रनाथको रथ, प्रहरीले गर्यो हस्तक्षेप, पुल्चोक तनावग्रस्त

मूलखबर संवाददाता
ललितपुर, १८ भदौ

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण अत्याधिक बढ्न थालेपछि नियन्त्रण गर्न भन्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । निषेधाज्ञामा मानिसहरुलाई बाहिर निस्कन र सामाजिक दुरी कायम गर्न निर्देशन गरिएको छ । तर यहि निषेधाज्ञाको बीचमा रातो मच्छिन्द्रनाथको रथ तान्न बिहीबार सयौं संख्यामा पुल्चोकमा भेला भएको भीडलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर तितरबितर पारेको छ।

कोरोना महामारीको जोखिमबीच सयौं संख्यामा आएका स्थानीय र गुठियारहरूको भीडले रातो मच्छिन्द्रनाथको रथ तानेर बीच सडकमा ल्याएका थिए। निषेधाज्ञा तोडेको भन्दै प्रहरीले भिडमाथि पानीको फोहोरा र अश्रुग्यास हानेको छ । सम्झाई बुझाई गर्दा रथ तान्न् आएका नागरिकहरु पछि नहटेपछि भिडमाथि हस्तक्षेप गरेको थियो । यसको जवाफमा रथ तान्न आएकाहरूले प्रहरीमाथि ढुंगा हानेका थिए। झडपमा केही प्रहरी घाइते भएका छन् भने केही स्थानीयलाई पनि चोट लागेको छ। झडप क्रममा एउटा मोटरसाइकलमा आगो लागेको थियो, जसलाई प्रहरीले पानीको फोहोरा छ्यापेर निभाएका थिए।

प्रहरी र रथ तान्नेहरूबीच भएको झडप क्रममा केही बेर पुल्चोक तनावपूर्ण भएको थियो। स्थानियहरुले आफ्नो घरको छतबाट समेत प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । भिडन्तपछि रथ र सडक पुरै प्रहरीले कब्जामा लिएको छ । पुल्चोक सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ छ। उनीहरूले मूल सडकबाट भीड पन्छाएर रथलाई घेरेर राखेका छन्। रथ तान्न आएकाहरू पुल्चोकबाट मंगलबजार जाने बाटोतर्फ मदन स्मारक स्कुलनिर नाराबाजी गरेका थिए । प्रहरीले उनीहरूलाई त्यहाँबाट अगाडि आउन नदिन बाटो रोकेका थिए । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी तैनाथ छन् । प्रहरीले कोही पनि नागरिकलार्य पक्राउ नगरेको जनाएको छ ।

ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्यापु समाजको बैठकले रथ तान्नेबारे निर्णय लिने र त्यसमा आफूहरुले सहयोग गर्ने बताएका छन् । तर उनले कोरोना भाइरसको संक्रमणको कन्ट्रयाक्ट ट्रेसिंगको काम भइरहेकाले भिड जम्मा भएर रथ तान्ने काम निषेधाज्ञामा गर्न नहुने बताएका छन् । तर स्थानिय वासिन्दाहरुले असोज २ गते पर्ने मलमास अगाडि नै रथलाई बुँगमति पुर्याइसक्नुपर्ने अडान राख्दै आएका छन् । उनीहरुले सरकारले आफ्नो साँस्कृतिक अधिकामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । –तस्विर साभार : सेतोपाटी