बागलुङ ढोरपाटनमा बाढीले बस्ती बगायो, १९ बेपत्ता, क्षतीको पूर्ण विवरण आउन बाँकी

मूलखबर संवाददाता
पोखरा, १८ भदौ ।

वर्ष सकिन लाग्दा बागलुङको ढोरपाटन नगरपालिका–९ बोवाङ्गको भुजिखोलामा आएको बाढीले खोला किनारका बस्ती बगाउँदा १९ जना वेपत्ता भएका छन् ।

अविरल बर्षासँगै बुधबार राती खोलामा आएको बाढीले तटीय क्षेत्रको बस्ती बगाउँदा मानवीयसँगै करोडौंको भौतिक क्षति भएको आशंका गरिएको छ । यद्यपी क्षतीको पूर्ण विवरण भने आइनसकेको संघिय सांसद देबेन्द्र पौडेलले बताउनुभयो । प्रहरी घटना स्थल पुग्न कठिन हुँदा मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण प्राप्त हुन नसकेको हो ।
स्थानीय जितबहादुर घर्तीका अनुसार लाखुरबाटका तीन जना, जुनापँधेराका दुई जना, घट्टाबोटका १२ जना, भुसुन्डेका दुई जना वेपत्ता भएका छन । पहिरोले तटीय क्षेत्रका करिव दुई दर्जन घर पूर्ण क्षति गरेको छ ।
बाढीले भुजुखोला चौथो र पाँचौ लघु जलविद्युत आयोजताको पावर हाउस समेत बगाउँदा सो क्षेत्रमा सम्पर्क विच्छेद हुँदा घटनाबारे पुरा विवरण प्राप्त हुन नसकेको स्थानीयवासी घर्तीको भनाई छ ।
बाढीले जनचेतना प्रावि र सरसस्वती आधारभुत विद्यालयको भवन र झोलुङ्गे पुल पनि बगाएको छ । पहिराले ढोरपाटन सालझण्डी मोटरबोटो पूर्ण रुपमा अवरुद्ध गरेको हुँदा उद्धारको लागि प्रहरी घटना स्थल पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।
स्थानीय प्रहरीचौकीबाट प्रहरीको उद्धार टोली पैदल यात्रा मार्फत घटनास्थलतर्फ गएको छ । घटना स्थलमा टेलिफोन सम्पर्क विच्छेद हुँदा घटनाबारे विवरण प्राप्त गर्न मुस्किल भएको प्रहरीको भनाई छ । ढोरपाटन नगरपालिका–३ भर्नेबगर खोला किनारमा करिव ३२ बर्षिय पुरुषको पहिचान नखुलेको शव फेला परेको बताइएको छ ।
घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र न्यौपानेसहितको सुरक्षा निकायको टोली प्रस्थान गरेको छ ।
ढोरपाटन–सालझण्डी सडक खण्डको बस्तीमाथि रहेको फलेगरमा गएको पहिरोले भुजिखोला थुनिएको र खोलाको ताल फुटे पछि बाढी आएको हुन सक्ने स्थानीयबासी जितबहादुर घर्तीले बताउनुभयो ।