काठमाडौं उपत्यकामा ४८१ सहित देशभर थपिए १०६९ कोरोना संक्रमित, घटेन निषेधाज्ञाले संक्रमण

मूलखबर संवाददाता
काठमाडौं, १६ भदौ ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार ६९ जना संक्रमित थपिएका छन्।
सरकारले कोरोना नियन्त्रणका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको दुई साता बितिसक्दा काठमाडौं उपत्यकामा ४८१ जना संक्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा धेरै संक्रमित भेटिइरहेका छन्। पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै ३ सय ९३ जना नयाँ संक्रमित थपिएका छन्। त्यसैगरी ललितपुरमा ५८ जना, भक्तपुरमा पनि ३० जना संक्रमित थपिएका छन्।

देशका विभिन्‍न ठाउँमा लकडाउन र निषेधाज्ञा जारी रहे पनि संक्रमण समुदायसम्म पुगेको देखिएको छ ।

देशका १२ जिल्लामा ५ सय वढि सक्रिय संक्रमित रहेका छन् भने ५ वटा जिल्लामा भने संक्रमण शुन्य देखिएको छ । सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा अहिलेसम्म संक्रमण शुन्य रहेको छ ।

देशका विभिन्‍न १२ जिल्लामा मात्रै ७३ प्रतिशत संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अुनसार पछिल्लो २४ घण्टायता ३४४ महिला र ७ सय २५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।