निषेधाज्ञाको १२ औं दिन : थप ८९९ मा कोरोना संक्रमण, काठमाडौंमा २९८, निको ५७ %

मूलखबर संवाददाता
काठमाडौं, १५ भदौ

नेपालमा ८९९ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३०३ महिला र ५९६ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार १२९ जनाको आरटी पीसीआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३९ हजार ४६० पुगेको जनाइएको छ ।

काठमाडौं उपत्यकामा २९८ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

पछिल्लो २४ घण्टामा ५८८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५४ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २१ हजार ४१० पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू सात हजार ३३७ रहेका छन् ।