देशभर १ हजार १११ कोरोना संक्रमित थपिए, ३५ हजार ५३९ पुगे

मूलखबर संवाददाता
काठमाडौं, ११ भदौ ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार १११ कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३३४ महिला र ७७७ पुरुष गरी देशभर थप १ हजार १११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको उनले बताए । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण १२ हजार ६२९ रहेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ३७७ जना नयाँ संक्रमित भेटिएका छन् । निषेधाज्ञा लागु गरिएको आठौं दिनसम्म आइपुग्दा काठमाडौं उपत्यकामा संक्रमितको संख्या लगातार बढिरहेको छ । हिजो ३०१ जना नयाँ संक्रमित थपिएकोमा आज ३७७ पुगेको हो । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका छन् ।
हालसम्म १८३ जनाको ज्यान गएको छ ।

कोरोना निको भएर ५६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ ।
यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । जसमा होम आइसोलेशनमा ६ हजार २१० जना र संस्थागत आइसोलेसनमा ९ हजार ६३ रहेका छन् ।