झापामा गाेरू काटेपछि झडप, प्रहरीको गाेलीले एक मुस्लिम युवाको मृत्यु

मूलखबर संवाददाता
झापा, ११ भदौ

झापा गाउँपालिका–३ कामाटोलीमा गोरु काटेको निहुँमा भएको झडपमा प्रहरीको गोली लागी घाइते भएका रसिकुल आलमको मृत्यु भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर मगरका अनुसार उनको उपचारका क्रममा बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको हो ।

इस्लाम धर्माबलम्बीको बाहुल्य रहेको कामाटोलीमा बुधबार स्थानीयबासी र प्रहरीबीच झडप भएको थियो । गोली लागि सख्त घाइते भएका ३८ वर्षिय आलमलाई उपचारका लागि बी एन्ड सी अस्पताल पुर्‍याइएको थियो । अस्पताल व्यवस्थापनले पनि उनको मृत्यु भएको पुष्टि गरेको छ ।

गोरु काटेको खबर पाएपछि प्रहरी टोली कामाटोली बजार पुगेको थियो । प्रहरीले घटनास्थलवाट गोरुको टाउको र खुट्टा बरामद गरी फर्कने क्रममा स्थानीयवासीले आक्रमण गरेका सशस्त्र प्रहरीको झापा गाउँपालिकास्थित बिओपीका इन्स्पेक्टर सचन श्रेष्ठले बताए । उनले स्थानीयले आक्रमण गरेपछि प्रहरीले फाइरिङ गरेको पनि बताए ।

स्थानीयसँगको झडप भएपछि थप मद्दतका लागि सशस्त्र प्रहरी टोली घटनास्थल पुगेको थियो । सयौंको संख्यामा स्थानीयहरुले टायर बाली नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण गरेको प्रहरीले बताएको छ । घटनामा एकजना प्रहरी पनि घाइते भएको र उनकाे उपचार भइरहेको प्रहरीले जनाएको छ ।

संविधानमा स्पष्ट रूपमा धर्म निरपेक्षता उल्लेख गरेकाे अवस्थामा मुस्लिम समुदायले गाेरू काटेकाे निहुँमा प्रशासनले हस्तक्षेप गरि गाेली चलाउनु र हत्या गर्नु दुखद पक्ष रहेकाे झापाका नेकपा नेता रमेश गुरागाईले बताएका छन् ।