निषेधाज्ञाले पनि घटेन संक्रमण : काठमाडौंमा २३२ सहित देशभर ८५५ जना नयाँ संक्रमित

मूलखबर संवाददाता
काठमाडौं, ९ भदौ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट गत २४ घण्टामा नेपालमा ८५५ जना संक्रमित भएका छन् ।
कोरोना नियन्त्रणको लागि भन्दै उपत्यकामा जारी गरिएको निषेधाज्ञाको छटौं दिनसम्म आइपुग्दा राजधानी काठमाडौं उपत्यकामा संक्रमितको संख्या घटेको भने छैन ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २३२ जना नयाँ संक्रमित थपिनुले संक्रमण घटेको पुष्टि हुन सकेको छैन । प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ जना गरि उपत्यकामा २३२ जना नयाँ संक्रमित थपिएको बताएका हुन् ।

पछिल्लो २४ घन्टामा मंगलबार देशभर थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार संक्रमणको दर घटेको छैन, सावधानी अपनाउनु जरुरी छ ।