रहेनन् राष्ट्रकवि माधव घिमिरे, राष्ट्रिय झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली (जिवनीसहित)
काठमाडौं, ३ साउन ।
नेपाली काव्यजगत्का शिखर पुरुष राष्ट्रकवि माधवप्रसाद घिमिरे हामीबीच रहनुभएन । सात महिनादेखि विभिन्न स्वास्थ्य समस्याका कारण थलिनुभएका राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मङ्गलबार बेलुकी ५ः५५ बजे लैनचौरस्थित निवासमा निधन भएको हो ।
उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रकवि माधव घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अपर्ण गर्नुभएको छ । आज बिहान घिमिरे निवासमा पुगेर उहाँले सरकारका तर्फबाट श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।
यस्तै नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले पनि उहाँको पार्थिव शरीरमा माला चढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
जिवनी
लम्जुङ जिल्लाको पुस्तुन गाउँमा १९७६ असोज ७ गते जन्मनुभएका घिमिरे तीन वर्षको हुँदा आमा बित्नुभएको थियो । छ वर्ष हुँदा अक्षर चिनेका घिमिरे ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडाको संस्कृत पाठशालामा पढ्न पुग्नुभएको थियो । त्यसपछि काठमाडौँको रानीपोखरीस्थित संस्कृत प्रधान पाठशाला हुँदै तीनधारा संस्कृत पाठशालाबाट प्रथमा उत्तीर्ण गर्नुभएका घिमिरेले बनारसको क्विन्स विश्वविद्यालयबाट शास्त्री अध्ययन गर्नुभयो ।
वि.सं. १९९४ मा आफ्नो पहिलो कृति ‘नवमञ्जरी’ खण्डकाव्यमार्फत नेपाली साहित्यिक फाँटमा अगाडि बढ्नु भएका राष्ट्रकवि घिमिरेका अधिकांश रचनाहरू कालजयी मानिन्छन् । उहाँ आफ्नो समकक्षीदेखि पछिल्लो पुस्तासम्म उत्तिकै लोकप्रिय र सम्मानित मानिनुहुन्छ । राष्ट्रकवि घिमिरेको साहित्यिक योगदान र व्यक्तित्वबारे साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले भन्नुभयो, “उमेरले स्रष्टाहरू धेरै वर्ष बाँचे पनि आफ्नो उर्वरकालदेखि अहिलेसम्मका पुस्ताको प्रतिनिधित्व गर्न सक्ने एक मात्रै स्रष्टाका रूपमा राष्ट्रकविको परिचय बनेको छ ।”
धेरै स्रष्टाले आफ्नो कालखण्डको मात्रै प्रतिनिधित्व गर्छन् तर राष्ट्रकवि यसमा अपवाद रहनुभयो । “उहाँ सबैकालको प्रतिनिधित्व गर्न सक्ने एक मात्र स्रष्टाको परिचय बनाएर बिदा हुनुभयो,” श्रेष्ठले भन्नुभयो । उहाँ आफ्नो समकक्षीदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविवर धरणीधर कोइराला, भूपि शेरचन, केदारमान व्यथित, सिद्धिचरण श्रेष्ठ, धर्मराज थापालगायत सबैबीच लोकप्रिय मानिनुहुन्थ्यो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा पछिका सर्वाधिक लोकप्रिय स्रष्टाका रूपमा राष्ट्रकवि घिमिरेलाई लिइन्छ । स्वच्छन्दतावादी र परिष्कारवादी कविका रूपमा परिचित राष्ट्रकवि घिमिरेका नेपाली हामी रहौँला कहाँ, गाउँछ गीत नेपाली, फूलको थुङ्गा बगेर गयो, आजै र राति के देखेँ सपनी, झमझम पानी प¥यो असारको रात, सारङ्गी त रेटे पनि बज्छ मीठो धून लगायत दर्जनौँ कालजयी गीत नेपालीको मनमनमा गुञ्जिएका छन् ।
‘राष्ट्रकवि’ उहाँको कालजयी चिनारी हो । शोककाव्यमा उहाँका रचना सबैभन्दा उत्कृष्ट मानिन्छन् । किन्नरकिन्नरी, गौरी, मालती मङ्गले, शकुन्तला लगायतका दर्जनौँ कृति नेपाली समाजमा लोकप्रिय छन् । त्यति मात्र होइन उहाँका राष्ट्रिय गीतहरू पनि उत्तिकै कर्णप्रिय छन् ।
एक युग बाँचेर नेपाली साहित्य भण्डारमा ‘युगयुग’ योगदान गर्नुहुने घिमिरेको ‘अश्वस्थमा’ कृति नोबल पुरस्कारका लागि नेपालबाट सिफारिस गरी पठाइएको थियो । साहित्यका बहुआयामिक विधामा कलम चलाए पनि राष्ट्रकवि आफ्नो मूल विधा साना साना फुटकर रचना तथा कृतिलाई नै मान्नुहुन्थ्यो । बाल साहित्यकारका क्षेत्रमा उहाँको सार्वजनिक चिनारी पूरै लुकेको छ । स्रष्टा तथा साहित्यकारसित उहाँले आफू महाकाव्य लेखनमा त्यति रुचि नभएको र केहीको आग्रहमा मात्रै लेख्ने गरेको बताउनुहुन्थ्यो । पछिल्ला सार्वजनिक कार्यक्रममा राष्ट्रकवि घिमिरेले आफू महाकाव्य लेखनमा व्यस्त रहेको सुनाउनुहुन्थ्यो । तर अन्तिम महाकाव्य ‘ऋतम्भरा’ नेपाली साहित्य फाँटमा उपहार दिने राष्ट्रकविको सपना भने पूरा हुन सकेन ।
राष्ट्रकविका पारिवारिक सदस्य हेमाङ्गराज अधिकारीका अनुसार ऋतम्भरा महाकाव्य लगभग सकिएको छ । त्यसका केही सर्ग राष्ट्रकविलाई चित्त बुझेको थिएन, त्यो सच्याउन पाउनुभएन ।
लैनचौरस्थित राष्ट्रकविको आँगनमा पछिल्लो केही वर्ष नेपाली साहित्यका धेरै साहित्यिक भेटघाट र कार्यक्रमहरू भए । साहित्यिक भेटघाट र कार्यक्रममा निकै नै ओजपूर्ण र जोशिलो भाषण दिनुहुने घिमिरे आफूलाई भेट्न निवासमा पुगेका स्वेदशी तथा विदेशी साहित्यका पारखीलाई आफ्ना रचना निकै उत्साहपूर्वक सुनाउने गर्नुहुन्थ्यो ।