नेपालमा काेराेना : काठमाडौं उपत्यकामा २०५ सहित देशभर १०१६ नयाँ संक्रमित

मूलखबर संवाददाता
काठमाडौं

विश्वव्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९ काे संक्रमण नेपालमा अत्यन्तै तिब्र बन्दै गएको छ ।

नेपालमा आज (मंगलबार) पहिलोपल्ट एकै दिन एक हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा झन बढेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार एक हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।

जसमध्ये काठमाडौं उपत्यकामा २०५ जना रहेका छन् । काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा ८५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । याेसँगै हालसम्म १७ हजार ५८० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

आइसीयूमा रहेर उपचार भइरहेका सङ्क्रमितहरू प्रदेश १ मा चारजना, प्रदेश २ मा ४९, वागमती प्रदेशमा ५२, गण्डकीमा ६, प्रदेश ५ मा १० रहेका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा कोही पनि आइसीयूमा नरहेको उहाँले जानकारी दिनुभयो ।

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा सातजनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या एकसय १४ पुगेको छ ।