मन्त्रीपरिषद् बैठकले काे काे लाई दियाे नियुक्ति ?

मूलखबर संवाददाता
काठमाडौं

सरकारले परराष्ट्र मन्त्रालयका सहसचिवहरू तापस अधिकारी, गेहेन्द्र राजभण्डारी र रामकाजी खड्कालाई राजदूतमा सिफारिश गरेको छ।

सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि योजना पेश गर्न सिसिएमसीलाई निर्देशन दिएको छ।

बैठकमा कोरोना संक्रमण डर लाग्दो रुपमा फैलिएको भन्दै मन्त्रिहरुले फेरि लक डाउन गर्नुपर्ने सुझाव पेश गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले रोकथामका लागि उपाय पेश गर्न निर्देशन दिएका हुन्।

सिसिएमसीको संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल रहेका छन्।

एक मन्त्रीका अनुसार बैठक बसेर सुझाव पेश गर्न प्रधानमन्त्री ओलीले पोखरेललाई निर्देशन दिएका हुन्।

त्यस्तै बैठकले युवा तथा साना व्यवसाय स्वरोजगार कोषको उपाध्यक्षमा डा. कल्याण रोकालाई नियुक्त गरेको छ।

मन्त्रिपरिषद्ले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ। सरकारले कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठलाई हटाएर भण्डारी जिम्मेवारी दिएको हो।

काउन्सिलको नियमावली संशोधन गरेर केही दिनअघि मात्र नियुक्त भएकी भण्डारीलाई जिम्मेवारी दिइएको छ। श्रेष्ठ काउन्सिलको सदस्यमा भने यथावत रहेको ती मन्त्रीले जानकारी दिए।