एक घर एक पिसिआरको माग राख्दै कांग्रेसद्वारा गण्डकी प्रदेश सभा अवरुद्ध

मूलखबर संवाददाता
पोखरा, ३२ साउन ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गण्डकी प्रदेशसभाको आइतबारको बैठक अवरुद्ध गरेको छ ।
गएको असार २३ गते कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि दबाब दिन भन्दै काँग्रेसले संकल्प प्रस्ताव दर्ता गराएको थियो ।

काँग्रेसले दर्ता गरेको संकल्प प्रस्ताव बहुमतले अस्वीकार गरेपछि कांग्रेसले सोही विषयलाई मुद्धा बनाउँदै आजको सभा अवरुद्ध गरेको हो । ।
प्रदेश सभा बैठकमा आफूहरुले दर्ता गराएको प्रस्ताव अस्वीकृत भए पनि संकल्प प्रस्तावमा राखिएका केही माग भने पूरा हुनुपर्ने प्रतिपक्षी दलका नेताहरुले माग राखेका छन् ।

सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गरेलगत्तै काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुख खधिकारीले बैठक अवरुद्ध गर्नुको कारणबारे बोल्न प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीलाई समय दिएका थिए । नेपालीले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरसबाट नागरिकलाई सुरक्षित राख्नु पर्ने दायित्व बोध गराउँदै दर्ता गरेको संकल्प प्रस्ताव प्रमुख प्रतिपक्षले पेश गरेकै कारण अस्वीकार गरिएको आरोप लगाउँदै एक घर एक पिसिआरको अडान आफूहरुको भएको बताएका थिए । यसैगरि, सरकारले बनाएको क्वारेन्टाइन डब्लुएचओको मापदण्ड विपरित रहेको भन्दै मापदण्डअनुसारका क्वारेन्टाइन बनाउनुपर्ने उनले माग राखेका थिए ।

उनले महत्वपूर्ण विषयमा समसामयिक रुपमा ल्याएको प्रस्ताव भनेर स्वागत गर्नु पर्नेमा प्रतिपक्षले ल्याएकै कारण अस्वीकार गरिएको भन्दै संसद सुचारु गर्न नसकिने बताएका थिए । कांग्रेसका सांसदहरुको निरन्तरको अवरोधपछि सभामुख अधिकारीले भदौ १ गते १ बजेसम्मको लागि बैठक स्थगित गरेका छन् । अवरोध