नेकपा सचिवालय बैठक भोली सोमबार बस्ने
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि सोमबार बस्ने भएको छ ।
पार्टीको विवाद समाधानको लागि दुई अध्यक्षको सहमतिमा एक कार्यदल बनाएपछि सो विषयमा सचिवालय बैठकमा छलफल हुनुपर्ने भन्ने मत आएपछि भोली सचिवालय बैठक आव्हान गरिएको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल हुने एक सचिवालय सदस्यले जानकारी दिए । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको ६ सदस्यीय कार्यदललाई भोलिको सचिवालय बैठकले अनुमोदन गर्नेछ ।
त्यसैगरी भोलिको बैठकमा अध्यक्षद्वयले गठन गरेको कार्यदल, मन्त्रिमण्डल पुनर्गठन, पार्टीको महाधिवेशन र अहिलेसम्मका विवादका विषयमा छलफल हुने पनि बताइएको छ ।
विवाद बढेसँगै नेकपाको सचिवालय बैठक पनि लामो समयदेखि बस्न सकेको थिएन । भने जारी स्थायी समिति बैठक पनि अनिश्चित कालको लागि स्थगित गरिएको थियो । भोलीको सचिवालय बैठकले स्थायी समितिको बैठक सुचारु गर्ने गरी कार्य तालिका सार्वजनीक गर्ने पनि बताइएको छ ।