नेकपा विवाद समाधान कार्यदलले थाल्यो काम, के ल्याउला प्रस्ताव ?
सत्तारुढ दल नेकपाको विवाद उत्कर्षमा पुगेर समाधानको मार्गतर्फ अगाडि बढेको छ । विशेष गरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधि विधान र पद्धतिमा नचलेको आरोप लगाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले प्रधानमन्त्री र अध्यष छाड्नुपर्ने माग गरेपछि विवाद उत्कर्षमा पुगेको थियो ।
विवादका कारण जारी स्थायी समिति बैठक अनिश्चित बन्दै गएको थियो, पार्टीका सम्पूर्ण कार्यहरु ठप्प प्राय: भएका थिए । दुई अध्यक्षबीच संवादहीनताको स्थिति बनेको थियो । प्रचण्डसहितका वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र प्रबक्ता नारायणकाजी सहितले प्रधानमन्त्री नसच्चिएमा बहुमतको निर्णयमा जाने बताएका थिए ।
दुई अध्यक्षबीच रहेको संवादहिनता दोश्रो तहका नेताहरुको पहलमा तोड्दै शुक्रबार वालुवाटारमा भएको छलफलबाट आन्तरिक विवाद समाधानको लागि कार्यदल निर्माण गरिएको थियो ।
महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले काम सुरु गरेको छ । शनिबार कार्यदलको पहिलो बैठक पोडेल निवासमा बसेको थियो । पहिलो बैठकमा कार्यदलका सदस्यहरूबीच अब पार्टीका विवादलाई दीर्घकालीन रूपमा कसरी किनारा लगाउन सकिन्छ भन्ने हिसाबले सूक्ष्म तहबाट छलफल सुरु भएको बताइएको छ ।
विवादलाई समाधान गर्न कसरी छलफल अगाडि बढाउने विषयमा सामान्य कुराकानी भएको कार्यदलका सदस्य एवं नेकपाका स्थायी समिति सदस्य पम्फा भुषालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुरुमा कार्यदलकै बारेमा छलफल भयो, त्यसपछि काम कसरी अगाडि बढाउने विषयमा पनि कुराकानी गरियो ।”
पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा सचिवालय सदस्य शङ्कर पोखरेल, डा. भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल हुनुहुन्छ । कार्यदलले पार्टीमा देखिएको वैचारिक, राजनीतिक, साङ्गठनिक विवाद पहिल्याउने काम गरेको छ । अब यसलाई समाधान कसरी गर्ने र त्यसको विकल्पका बारेमा छलफल सुरु भएको जनाइएको छ ।
कार्यदलले पार्टी महाधिवेशन, बाँकी रहेका पार्टीको समायोजन, कार्यविभाजन, प्रदेश तथा सङ्घमा मन्त्री हेरफेर, सरकार र पार्टीबीचको समन्वय लगायतका विषयमा छलफल गरिने जानकारी दिइएको छ । पार्टी फुटको संघारमा पुगेको देखिएको बेला बनेको कार्यदलबाट पार्टी एकता र सरकारलाई जनपक्षिय बनाउन विशेष प्रस्ताव आउने अपेक्षा गरिएको छ ।