अमेरिकी नागरिकता त्याग गर्नेकाे नयाँ रेकर्ड : ६ महिनामै ५८००

एजेन्सी
काठमाडौं

अमेरिकी नागरिकता छाड्ने मानिसहरुको सङ्ख्याले नयाँ रेकर्ड बनाएको छ । यसमा २०२० को पहिलो ६ महिनामै ५,८०० अमेरिकीहरुले नागरिकता त्याग गरेको पत्ता लागेको हो । यसरी तुलनात्मक रुपमा अघिल्लो वर्ष भरमा २,०९२ अमेरिकीहरुले नागरिकता छाडेका थिए जसकारण पनि यो सालको तथ्याङ्क अहिलेसम्मकै सबैभन्दा उच्च भएको न्युयोर्कस्थित बेमब्रिज अकाउन्टेन्टले गरेको अनुसन्धान प्रतिवेदनले जानकारी दिएको हो ।

सो फर्मले अमेरिकी सरकारद्वारा प्रकाशित प्रत्येक तीन महिनाको सार्वजनिक डाटा अध्ययन गर्दै आएको थियो जसमा नागरिकता त्याग गरेका सबै अमेरिकीहरुको नामसहितको विवरण समावेश हुन्छ । यसमा नागरिकता त्याग्ने प्रायः मानिसहरु, केही समय अगाडि नै दिक्क भएर अमेरिका छाडी गइसकेको र औपचारिक रुपमा नागरिकता बुझाएको पाइएको सीएनएनमा प्रकाशित समाचारमा उल्लेख छ ।

उनीहरु विशेषगरी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्बन्धी अहिले भइरहेका विभिन्न घटनालाई लिएर चिन्तित रहेको अनि महामारी नियन्त्रणमा अमेरिकाको प्रयाससँग पनि असन्तुष्ट भएकाले नागरिकता त्याग गरेको बेमब्रिज अकाउन्टेन्टस्मा पार्टनर रहेका एलिस्टर बेमब्रिज बताउँछन् । यसरी राजनीतिक माहोलका कारण पनि पछिल्लो समय धेरै मानिसहरु अमेरिकाबाट बाहिरिने क्रम बढेको बताइएको छ ।

नागरिकता छाडेका अधिकांश मानिसहरुले अमेरिकाको पछिल्लो वातावरणसँग आफूहरु खुसी नभएको र यस बाहेकको अर्को मुख्य कारण चाहिँ कर तिर्ने सम्बन्धी विषय भएको बेमब्रिजले जनाएको छ । किनकि विदेशमा बसे पनि अमेरिकी नागरिकहरुले हरेक वर्ष कर तिर्नैपर्ने हुन्छ ।

यसरी अमेरिकी नागरिकता त्याग गर्न चाहनेहरुले विदेशमा भएपनि व्यक्तिगत रुपमा अमेरिकी दूतावासमा उपस्थित भइ यसका लागि ३,३५० डलर शुल्क तिर्नुपर्ने हुन्छ ।

यसरी नागरिकता बुझाउनुका अनगिन्ती जोखिम भएपनि यो ट्रेन्ड अब केही वर्षसम्म बढिरहने बेमब्रिजले बताएको हो । यसमा धेरै मानिसहरु आगामी नोभेम्बरमा हुने निर्वाचनको पर्खाइमा पनि रहेको बताइएको छ । चुनावको नतिजाले धेरै मानिसहरुको निर्णयलाई प्रभाव पार्ने निश्चित रहेको रिपोर्टमा उल्लेख छ ।  -सीएनएनबाट