सजपाको टिप्पणी कुण्ठाग्रस्त गालीगलोज : सुर्य थापा

मूलखबर संवाददाता
काठमाडौं, २७ साउन ।

प्रधानमन्त्री के पी ओलीको निजी सचिवालयले जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति गरिएको टिप्पणीप्रति आपत्ति जनाएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले मंगलबार एक प्रेस नोट जारी गर्दै जसपाको टिप्पणी अशिष्ट र पूर्वाग्रही रहेको बताएका छन्। उक्त टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक रहेको थापाको भनाइ छ।

साउन २१ देखि २५ गतेसम्म बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री केपी ओली शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको ठहर गरेको थियो।

थापाको प्रेस नोटमा लेखिएको छ, ‘पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत जिम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलोज मात्र हो र सोचको दिवालियापन नै हो ।’

विज्ञप्तिमा थप लेखिएको छ, ‘राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ । त्यसै आधारमा यस स्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर होला ।’

निहीत स्वार्थ पूरा गर्न ओलीलाई बाधक देख्नेहरूले विगत छ दशकयता यसो गर्दै आएको र यो कुनै नौलो कुरा नभएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा लेखिएको छ, ‘त्यस्ता तत्वहरू इतिहासको गर्तमा सीमित भइसकेका छन् । अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले कोही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर छ । शीशाको घरमा बसेर ढुंगा हान्नेहरू आफैं असुरक्षित र पतन हुनु अनिवार्य छ ।’

हेर्नुस् जसपाको विज्ञप्तिः