बुढिगंगाकाे बाढिले बगायाे घर र बेलिब्रिज

मूलखबर संवाददाता
काठमाडौं

केहि दिनदेखिकाे अविरल वर्षाका कारण बुढिगंगामा अाएकाे बाढिका कारण बाजुरामा धनजनकाे व्यापक क्षति भएको छ ।

बूढीगंगा नदीको बाढीले आइतबार राति बाजुराको तटीय क्षेत्रका बस्तीमा क्षति पुर्‍याउनुका साथै एक जनालाई बगाएर बेपत्ता बनाएको छ । बडिमालिका नगरपालिका–२ घाँघर टोलमा बाढीले घर भत्काएको छ ।

सोही स्थानकी ६५ वर्षीया आइसेनी महत बेपत्ता भएकी हुन् । उनी वडाध्यक्ष डम्मर महतकी आमा हुन् ।

नदी बस्तीमा पसेर घर बगाएको बडिमालिकाका नगरप्रमुख पदमबहादुर बडुवालले बताए । नदीले जडांगामा रहेको बेलिब्रिज बगाउनुका साथै सडक भत्काइदिएको छ ।

अन्य ठाउँका झोलुंगे पुलसमेत बगेको स्थानीयले बताएका छन् । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।