मेलम्चीमा पहिरो जाँदा मृत्यु हुनेको संख्या पाँच, बेपत्ताहरुको खोजी जारी
मेलम्चीमा पहिरो जाँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। पहिरोमा हराइरहेका थप तीन जनाको शव निकालिएको छ। बेपत्ता अरु चार जनाको खोजी जारी छ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ को पहिरोमा पुरिएकाहरुमध्ये पाँच जनाको शव फेला परेको छ । मृतकमध्ये दुई जनाको मात्र परिचय खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार वीरगञ्ज निवासी प्रदीप चौरसिया र राजेश चौधरीको शव पहिचान भएको हो । अन्य मृतकको पहिचान हुन बाँकी छ ।
मेलम्ची नगरपालिका ११ मेलम्ची बजार नजिक पहिरो जाँदा एक जनाको मृत्यु भएको छ। पहिरोमा परेर सात जना हराइरहेका छन्।
गएराति परेको अविरल वर्षाले पहिरो जाँदा कर्भड हल बनाउने मजदुर बसेको टहरो पुरिएको थियो। मृत्यु हुनेको पहिचान खुलेको छैन। पहिरोमा परी घाइते भएका एक जनाको उद्धार गरिएको छ।
वडा नम्वर ११ का अध्यक्ष रुद्रप्रसाद दुलालका अनुसार हेलम्बु सडकको माथिबाट खसेको पहिरोले मजदुर बसेको छाप्रो पुरिएको हो। “ठूलो पहिरो छैन, बाटो माथिको ढिस्कोले मजदूर बसेको टहरोलाई पुरेछ,” उनले भने।
उनका अनुसार अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बेपत्ताहरुको खोजी गरिरहेको छ।