ट्राफिक प्रहरीमा पनि कोरोना : बग्गीखाना सिल, ३७५ जना क्वारेन्टाइनमा
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण झन तिब्र र भयावह बन्न थालेको छ । जनपथ र शसस्त्र प्रहरीमा मात्रै देखिएको कोरोनाको संक्रमण अब ट्राफिक प्रहरीमा पनि देखिएपछि यसको रुप र विस्तारको गति अनुमान भन्दा वाहिर जान थालेको विश्लेषण गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ ९बग्गीखाना०का दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले भने, ‘म समेत ३७५ जना ब्यारेक–ब्यारेकमै छौं । अहिले महाशाखामा पूर्णलकडाउनको अवस्था छ ।’
उनले कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको जानकारी दिए । आफूले अरुसँग भेटघाट बन्द गरेको उनले बताए । महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी ढकालले भने, ‘कम प्रेसर भएको ठाउँका ट्राफिक प्रहरीलाई झिकेर बढी प्रेसर भएका ठाउँमा पठाएर मिलाएका छौं ।’