विभिन्न मन्त्रालयमा १६ सय बढी अस्थायी दरबन्दी स्विकृत

मूलखबर संवाददाता
काठमाडौं

सरकारले विभिन्न मन्त्रालयहरूमा राजपत्राङ्कित श्रेणीका विभिन्न पदमा एक हजार छ सय ८२ अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

मङ्गलवारको मन्त्रिपरिषद् बैठकले मन्त्रालय अन्तर्गत सञ्चालित आयोजना तथा कार्यक्रमहरूका लागि चालु आर्थिक वर्षमा आवश्यक पर्ने अधिकृत स्तरभन्दा माथिका विभिन्न पदमा अस्थायी दरबन्दी सिर्जना गरेको हो ।

जसअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गत सञ्चालित आयोजनाका लागि तीन सय ६७, खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरूका लागि १५ र अन्य १२ आयोजनाका लागि दुई सय २३, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग र रेल विभाग अन्तर्गत सञ्चालन हुने ५२ वटा आयोजनाका लागि तीन सय ७७ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालित कार्यक्रमका लागि सात सय १५, अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

मन्त्रालयद्वारा सञ्चालित यस्ता कार्यक्रमहरूका लागि आवश्यक अधिकृत स्तरभन्दा माथिको पदका लागि मन्त्रिपरिषदबाटै स्वीकृत गराउनु पर्ने हुन्छ ।

छोटो समयका लागि स्वीकृत गरिएका यस्ता दरवन्दीहरुमा सकेसम्म स्थायी कर्मचारीबाटै लिनुपर्ने र सोबाट लिन नसकिने अवस्था भएमा मात्रै बाहिरबाट राख्नुपर्ने भए पनि पछिल्लो समय आफ्ना तथा आफन्तहरूको व्यवस्थापनका लागि सकेसम्म बाहिरैबाट बढी राख्ने गरिएको छ । र, अनेकन् स्वार्थहरू जोडेर त्यस्ता आयोजनाहरू समयमै फत्ते गर्नतिर भन्दा पनि निरन्तरता दिनतर्फ पनि केही निकायहरू उद्यत देखिन्छन् ।