सितापाइलामा २२ वर्षीया युवतिमाथि एसीड प्रहार
राजधानीको सीतापाइलामा एकजना युवतीमाथि तेजाव हानिएको छ। बिहीबार साँझ सीतापाइलामा ओखलढुंगा घर भएकी ती युवतीमथि तेजाव हानिएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार २२ वर्षीया पवित्रा कार्कीमाथि एकजना युवकले तेजाव हानेका हुन्। कोठाबाट सामान किन्न बाहिर निस्किएको अवस्थामा उनको अनुहारमा तेजाव खन्याइएको हो।
तेजावले अनुहार जलेको अवस्थामा उनलाई तत्कालै कीर्तिपुर अस्पतालमा लगिएको छ। जलेकाहरुको उपचार कीर्तपुर अस्पतालमा हुने गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले तेजाव हान्ने व्यक्तिको खोजीलाई तीव्र पारिएको बताएका छन्।
राजधानीमा यस अघि पनि धेरैपटक युवतिहरुमाथि तेजाव प्रहारका घटना भएका थिए । तेजाव प्रहारलाई गम्भीर प्रकृतिको अपराधका रुपमा कार्वाही गरिनु आवश्यक छ जसले गर्दा भविष्यमा कसैले पनि यस्ता हर्कत गर्न नसकोस् ।