जिप दुर्घटनामा एकै परिवारका ५ सहित ७ घाइते, १ गम्भीर

बेलिना थापा
लमजुङ

लमजुङको बेंसीशहर नगरपालिका १ गाईखुरे झरना नजिकै शनिबार साँझ ६ बजेतिर जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ । गाईखुरे झरनाबाट फर्कने क्रममा ग ३ च १५२५ नम्बरको बोलेरो जीप सडकबाट खसेर दुर्घटना हुँदा बेंसीशहर नगरपालिका ८, नारायणस्थानमा बस्दै आएका ४२ बर्षीय बालकृष्ण श्रेष्ठ लगायत उहाँका परिवारका ५ जना, छिमेकी र आफन्तका २ जना घाइते भएका छन् । बालकृष्णले चलाएको उक्त जिप सडकबाट करीब १५ मिटर तल खस्दा उहाँकी श्रीमती ३५ बर्षीया सीता श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ ।

प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार गम्भीर घाइते सीतालाई लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार हुन नसकी पुरानो मेडिकल कलेज चितवन रिफर गरिएको छ । घाइते हुनेमा बालकृष्णका ६ बर्षीय छोरा विनायक श्रेष्ठ, १३ बर्षीया छोरी स्मृति श्रेष्ठ, ११ बर्षीया छोरी स्नेह श्रेष्ठ, बालकृष्णका भाइको छोरा ८ बर्षीय युनिक श्रेष्ठ र छिमेकी गोविन्द श्रेष्ठको छोरी १३ बर्षीया स्मृति श्रेष्ठ रहेका छन् ।

घाइते ५ जनाको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको र घाइते बालकृष्ण श्रीमती सीतासंगै उपचारको लागि चितवन गएको प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभयो ।

शनिबारको दिन गाईखुरे झरनामा परिवारसहित घुमेर फर्कने क्रममा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । घुम्तीमा मोड्ने क्रममा जिपको चक्काले ठाउँ छोड्दा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।