एकैदिन १७ सय ५ जना कोरोना जितेर फर्किए, अहिलेसम्म १० हजार २ सय बढि निको

मूलखबर संवाददाता
काठमाडौं, २९ असार

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई जितेर एकै दिन १ हजार ७ सय ५ जना घर फर्किएका छन् । कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका यो सबैभन्दा वढि हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सोमबार विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट १ हजार ७ सय ५ जना संक्रमण मुक्त भएपछि संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या १० हजार २ सय ९४ पुगेको जानकारी दिनुभयो ।

नेपालमा हाल सम्म कोरोना भाइरसको संक्रमण मुक्त भई स्वास्थ्यलाभ गर्नेको दर ६० दशमलव ७ प्रतिशत रहेको प्रवक्ता प्रा।डा। गौतमले बताउनुभयो ।
मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसमम्म १६ हजार ९ सय ४५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

आज देशका विभिन्न स्थानमा रहेका २५ वटा प्रयोगशालामा ५ हजार ८ सय ५६ जनाको रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा १ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता प्रा. डा. गौतमले दिनुुभएको जानकारी अनुसार प्रदेश नं. १ मा ६ जना, प्रदेश नं. २ मा ४१ जना, वाग्मती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा ८ जना, प्रदेश नं. ५ मा १४ जना, कर्णाली प्रदेशमा ४६ जना र सुुदुरपश्चिम प्रदेशमा १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा आज २३ हजार ४ सय ७० जना रहेका छन् भने ६ हजार ६ सय १३ जना विभिन्न आइसोलेसन सेन्टर हरूमा रही स्वास्थ्यलाभ गरिरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।