बाढीपहिरोले करिब ५ सय मेगावाट बिजुली उत्पादन बन्द
केही दिनदेखी लगातार आएको देशव्यापी बाढीपहिरोका कारण करिब ५ सय मेगावाट बिजुलीको उत्पादन बन्द भएको छ ।
नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युतगृहहरुबाट क्रमश : करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको जानकारी दिए । बाढीका कारण प्राधिकरणका विद्युतगृहबाट करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको कार्यकारी निर्देशक घिसिङले बताए ।
‘विद्युत उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुँदा विद्युत् आपूर्तिमा गडबड भएको छ, करिब ५ सय मेगावाट उत्पादन नहुँदा पनि केही ठाउँमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन गरिरहेका छौं’,घिसिङले भने ।
आफ्नो उत्पादन बन्द भएपछि कटैया, ढल्केबरबाट आयात गरी विद्युत् आपूर्तिको बन्दोबस्ती भइरहेको छ ।’ उनले बन्द रहेका विद्युत् गृह, प्रसारण तथा वितरण लाइन सञ्चालन गरी विद्युत् आपूर्तिको व्यवस्थापन गर्न प्राविधिक टोली अहोरात्र खटिरहेको जानकारी दिए ।