आँखामा पट्टी बाँधेरै सभामुख बाढी प्रभावित क्षेत्रमा, घाइतेको उद्धार शुरु (वेपत्ताको नामावलीसहित)
हिजो मात्रै आँखाको माेतियाविन्दुकाे शल्यक्रिया गरेका सभामुख अग्निप्रसाद सापकोटा आँखामा पट्टी बाँधेरै बाह्रबीसेको बाढी प्रभावित क्षेत्रमा पुग्नुभएको छ । आफ्नो गृहजिल्लामा बाढीले धन जनको क्षती पुर्याएपछि आँखामा पट्टी बाँधेरै प्रभावित क्षेत्रमा उद्धार राहत र पीडितलाई भेटघाट गर्न सापकोटा त्यहाँ पुग्नुभएको हो ।
यसअघि पनि सांसद र मन्त्री रहेका बेला समेत सबै विपदहरुमा जनतासँगै रहेर खटीने बानी भएका सापकोटा अहिले पनि प्रभावित क्षेत्रमा पुगी उद्धार र वेपत्ताको खोजी कार्यको नेतृत्व गर्नुभएको छ ।
यसैगरी वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल र आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेल पनि घटनास्थल पुग्नुभएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
यस्तै, घटनामा बेपत्ता हुनेहरूको पहिचान भएको पनि डीएसपी काफ्ले बताउनुभएको छ ।
बेपत्ता हुनेहरूमा बाह्रबिसे नगरपालिका(५ का भीमबहादुर वाइबा, चिनीमायाँ वाइबा, निमाडोल्मा, लक्ष्मण, सुनमाया, जनक वाइबा रहेका छन् । त्यस्तै सबिना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्तबहादुर, सुवेश, सबिता तामाङ रहेका छन् । अन्यको पहिचान नखुलेको खोजी भइरहेको जनाइएको छ ।
बाह्रबिसे नगरपालिका-५ जम्बुमा बाढीपहिरोले गम्भीर घाइते भएका दुई जना बिरामीलाई हेलिकप्टरबाट राजधानी उपचार गर्न लगिएको छ ।
गम्भीर दुई घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ उपचारको लागि लगिएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव काफ्ले दुई घाइतेलाई राजधानीको ह्याम्स अस्पतालमा पठाइएको जानकारी दिनुभयो ।
यस्तै राससका अनुसार यसैगरी बाह्रबीसे बाढीमा परी घाइते भएका चार जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ । बाढीमा परी घाइते भएका सविता बस्नेत र सुवेश तामाङलाई कैलाश एयरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । घाइते फुर्वा तामाङ र अर्का १० दिने शिशुलाई माउन्टेन एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँको ह्याम्स अस्पताल लगिएको उहाँले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा सोही ठेगानाका निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी रहेको डिएसपी काप्लेले जानकारी दिनुभयो ।
भोटेकोशी गाउँपालिका ५ का निमादोर्जे तामाङ, मञ्जु, पासाङनोर्बु र सहिल तामाङ रहेका छन् । बेपत्ता हुनेहरुलाई नेपाली सेना, प्रहरी र उद्धारकर्मीबाट खोजी कार्य भईरहेको छ ।