प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई भने आफ्नो कित्ता क्लियर गरेर आउनुस्

मूलखबर संवाददाता
काठमाडौं, २० असार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कित्ता क्लिएर गर्न मन्त्रीहरुलाई चुनौतिका रुपमा निर्देशन दिएका छन् ।

राष्ट्रपतिसँग २ घण्टा भेटेर फर्केपछि  बालुवाटारमा शनिबार साँझ आफ्नो मन्त्रिपरिषदका मन्त्री तथा राज्यमन्त्रीलाई बोलाएर प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् ।

नेकपा फुटको संघारमा पुगेको र एकताका लागि अझै प्रयास भने जारी राख्ने उनले बताउँदै कित्ता क्लिएर गर्न निर्देशन दिएका थिए ।  ‘मैले अब बाइ स्टेप, बाइ फोर्स कदम चाल्दै छु । तपाईंहरु कता लाग्ने हो ? कित्ता क्लिएर गर्नुहोस्‘, प्रधानमन्त्रीको भनाई उद्धिृत गर्दैै एक मन्त्रीले मुलखबरसँग भने ।

पार्टी एकता चरम सङ्कटमा परेको तर्कसहित प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकमा समेत आफुलाई तल्लो स्तरमा झरेर अपमानित ढंगले गालिगलौज गरिएको गुनासो पनि गरेका थिए । ‘यो षडयन्त्र हो, म यस्ता षडयन्त्रपूर्ण तरिकाले भएका स्थाय कमिटीका कुनै निर्णय मान्दिन । तपाईंहरू मन्त्रिपरिषद् सदस्य मात्रै होइन । पार्टी कमिटी सदस्य पनि हो । कता लाग्ने क्लियर गर्नुस ।’

झण्डै आधा घन्टा बोलेका प्रधानमन्त्री ओलीले अर्को बैठकमा आउँदा आफ्नो निर्णय लिएर आउन मन्त्रीहरुलाई अल्टिमेटम दिएक छन् ।

प्रधानमन्त्री ओलीले पार्टी स्थायी कमिटीमा एजेण्डा नै नभएका विषयमा छलफल भएको र आफुलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट अपमानजनक ढंगले हटाउन खोजिएको गुनासो गरे ।

उनले अगाडि थपे, ‘म अन्तिम समयसम्म पार्टी बचाउने प्रयास गर्छु तर सकिएन भने अलग हुन्छ । त्यसमा तपाईंहरुको सहयोग र साथ चाहिन्छ ।

उनले अर्का अध्यक्षसहितका कुनै नेताकाे नाम नलिई भने-  पार्टीका साथीहरुको गतिविधि तपाईं सबैलाई थाहा नै छ । कसले के गरिरहेको छ, त्यो कुरा पनि सबै थाहा नै होला । यस्तो गतिविधिले पार्टी एक रहन सक्दैन ।’

उनले अझै अगाडि बढेर भने-   ‘जुन साथीलाई म मन पर्छु, त्यो साथीले मलाई साथ दिनुहोला, जुन साथीलाई म मनपर्दैन साथ नदिनुहोला ।

प्रधानमन्त्री ओलीले अहिले आफुले सरकारको नेतृत्व छाड्दा राष्ट्रियता समेत कमजोर हुने दावी पनि गरेका थिए।

प्रधानमन्त्री ओलीले बोलिसकेपछि मन्त्रीहरु वर्षमान पुन, घनश्याम भुसाल र विना थापामगर पार्टीलाई फुटबाट जोगाउन आग्रह गरेका थिए ।