प्रधानमन्त्री अाेलीलाई मन्त्रीहरूकाे यस्तो सुझाव

मूलखबर संवाददाता
काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री र नेताहरूले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सुझाव दिएका छन् ।

पार्टीको स्थायी समिति बैठकमा अाफ्नाे राजिनामाकाे माग जाेडताेडले उठेपछि  प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले बाेलाएका बैठकमा केही मन्त्री र नेताहरूले साे सुझाव दिएका हुन् ।

दुवै अध्यक्षले अहिले पार्टीभित्र देखिएका समस्या समाधान गरेर अगाडि बढ्नुपर्ने उनीहरूको भनाइ थियो ।

प्रधानमन्त्रीले  पार्टीभित्र देखिएका समस्यालाई लिएर सबैसँग परामर्श गर्न लागेको र सोही क्रममा मन्त्री र नेताहरूलाई बोलाएको उनले बताएका थिए । बैठकमा सहभागीहरूका अनुसार प्रधानमन्त्रीले सोधेका थिए, ‘पार्टीभित्रका समस्या, संकट कसरी हल गर्ने ? सरकारलाई कसरी प्रभावकारी बनाउने ? सरकारका कामहरूलाई कसरी चुस्त बनाउने ? पार्टीभित्र एकता कायम गर्ने कुरामा के सुझाव छन् ।’ प्रधानमन्त्रीले मन्त्री, नेताहरूसँग सुझाव मागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताए ।

‘सहभागीहरूले प्रधानमन्त्रीलाई ऐतिहासिक जिम्मेवारी र जवाफदेहिता रहेको बताउनुभएको थियो । यति ठूलो जनमतबाट हामीलाई जिम्मेवारी दिइएको छ, यसलाई सम्झिनुपर्‍यो । पार्टी एकतालाई हरहालतमा बचाउनुपर्‍यो । नेताहरूको बीचमा विश्वासको संकट देखिन्छ । त्यसलाई हल गर्नुपर्‍यो । कुरा केके हो, नेतृत्वको बीचमा खुला खुलस्त गर्नुपर्‍यो,’ बैठकमा सहभागीले प्रधानमन्त्रीलाई दिएका सुझावबारे भट्टराईले भने, ‘सहमतिपूर्ण ढंगले अगाडि बढ्नुपर्‍यो । पार्टी र सरकारको बीचमा सम्बन्ध स्थापित गर्नुपर्‍यो । यी सबै काम गर्न मूलतः पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रूपमा तपाईंले नै ज्यादा अग्रसरता देखाउनुपर्छ । लचकता पनि देखाउनुपर्छ । सबै नेताहरूलाई विश्वासमा पनि लिनुपर्‍यो । एकताबद्ध बनाएर लानुपर्‍यो ।’