सडकदेखि बालुवाटारसम्म किन मागियो प्रधानमन्त्री ओलीको राजीनामा ?

मूलखबर संवाददाता
काठमाडौं, १६ असार ।

सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहेका बलियो सरकारका प्रधानमन्त्री के पी शर्मा ओलीको राजीनामाको माग काठमाडौंका सडक मात्रै होइन प्रधानमन्त्रीकै सरकारी निवास बालुवाटारमै पनि मागिएको छ ।

नेकपाको जारी स्थायी समितिको बैठकको चौंथो दिन मंगलबार बोल्ने १८ मध्ये अधिकांश स्थायी समिति सदस्य रहेका नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामाको माग गरेका छन् ।

ओलीसँगैको वरियतामा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले जनभावना अनुरुपको काम नगरेको मात्रै होइन आफूहरुलाई भारतको उजेण्टको आरोप लगाएको भन्दै अब अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाड्न ओलीलाई आदेश नै दिए भने वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनालले ओलीको स्वेच्छाचारी प्रवृत्ति र अहंकारी स्वभावले धेरै असजिलो भएको र जनतामा समेत नराम्रो छाप परेकाले राजीनामा गर्न सुझाव दिए ।

त्यसैगरी अन्य नेताहरुले पनि ओलीले राजीनामा दिनु नै उपयुक्त हुने धारणा राखेका थिए ।

बालुवाटारमा बोलाईएको बैठकमा दोश्रो दिन पुरै अनुपस्थित रहेका र तेश्रो दिन २० मिनेट मात्रै सहभागि भएका ओलीले चौंथो दिन यति धेरै आक्रमणको सामना गर्नुपर्ला भन्ने सायदै सोँचेका थिए तर उनीमाथि आक्रमणको वातावरण भने ओली आफैंले तयार गरेका थिए ।
ओलीले एक दिन अभि मदन भण्डारी जन्म दिनको अवसरमा बालुवाटारमै आयोजित कार्यक्रममा आफूलाई हटाउन भारत लागेको र त्यसमा आफ्नै दलका नेताहरु लागि परेको भन्ने अभिव्यक्ति दिएपछि ओलीविरुद्धको गठबन्धन झन बलियो र आक्रामक बनेको थियो ।

केही दिन अघि ओली नेतृत्वको सरकार भ्रष्टाचारमा डुबेको, कोभिडको नाममा १० अरब भ्रष्टाचार गरेको र पिसिआर टेष्टको दायरा नबढाएको लगायतका माग राखेर देशभर युवाहरुको स्वतस्फर्त आन्दोलन उठेको थियो । उनीहरुले ओलीले तातो पानी खाने, बेसार खाने लगायतका बोलेका कुरामाथि व्यंग गर्दै प्रधानमन्त्रीको राजीनामाको माग चर्को गरी उठाएका थिए । उनीहरुको आन्दोलनमा दमन समेत गरिएको थियो ।

पुर्व नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र र एमाले मिलेर नेकपा बनेदेखि नै अध्यष ओली र प्रचण्डको शक्ति संघर्ष देखा परेको थियो । सो संघर्षमा पुर्व एमाले नेता माधव नेपाल र झलनाथ खनाल अनि बामदेव गौतम पनि मिसिएपछि ओली पटक पटक अल्पमतमा परिरहेका छन् ।
शुरुमा माओवादी विरोधी कित्ता खडा गरेर अगाडि बढ्न खोजेका ओलीलाई कालान्तरमा आफ्नै पुर्व एमालेका नेताहरुसँगको संघर्ष भारी पर्दै गएको छ । त्यसलार्य समाधान गर्न ओलीले कहिले माधव नेपाल, कहिले झनाथ खनालाई त कहिले बाम देव गौतमलाई अनेकौं प्रलोभन र कार्ड फालिरहेका छन् । जसको पछिल्लो कडिका रुपमा उनले बामदेव गौतमलाई भावि प्रधानमन्त्रीको कार्ड फालेका थिए ।

गत मंसिर ४ गते दुई अध्यक्षबीच दुबैले मिलेर पार्टी र सरकार चलाउने सहमति भएको थियो। प्रधानमन्त्री ओलीले संसदको यो अवधिभर सरकारका काममा केन्द्रीत रहने र प्रचण्डले कार्यकारी अध्यक्षका रूपमा पार्टी चलाउने लिखित सहमति दुबै अध्यक्षले गरेका थिए। दुबैले त्यो लिखित सहमतिको साक्षी राष्ट्रपति विद्यादेवी भण्डारीलाई राखेका थिए।

त्यो सहमतिपछि पनि प्रचण्डले सरकारलाई राम्ररी नसघाएको, सार्वजनिक रूपमा सरकारको बचाउ नगरेको, गुटको भेला गरेर आफूविरूद्ध घेराबन्दी गरेको आरोप प्रधानमन्त्री ओलीको छ।

प्रचण्डका आफ्नै असन्तुष्टि छन्। त्यो लिखित सहमतिपछि पनि आफूलाई कार्यकारी अध्यक्षका रूपमा काम गर्न नदिएको, सार्वजनिक सञ्चारमाध्यममै गएर प्रधानमन्त्रीले आफूनै पहिलो नम्बरको अध्यक्ष रहेको र आफ्नै नेतृत्वमा पार्टी चल्ने भनेर दुई अध्यक्षबीच भएको सहमतिको मानमर्दन गरेको, पछि गएर पार्टी बैठक सञ्चालनसमेत आफूले मात्रै गरेकोजस्ता आरोप प्रचण्डले लगाएका छन्।

‘आफूले त्याग गरेर प्रधानमन्त्री ओलीलाई नै पाँच वर्ष सरकार चलाउने सहमति गरेपछि उहाँमा झनै अहंकार बढेको र उल्टो आफ्नो मानमर्दन गर्न थालेको भन्ने अध्यक्षको ठम्याइ छ,’ प्रचण्डनिकट एक नेताले सेतोपाटीसँग भने, ‘त्यो समहतिले दुई अध्यक्षबीच आपसी विश्वास बढाउला भनेको, झनै अविश्वासको नयाँ शृंखला सुरू भयो।’

पछिल्ला दिनमा पार्टीभित्रको शक्ति संघर्षमा प्रचण्ड र नेता माधवकुमार नेपाल एकातिर देखिएका छन् भने ओली अर्कातिर। पार्टी सचिवालयभित्र निरन्तर गुट फेरिरहने वामदेव गौतम पनि प्रधानमन्त्री ओलीले आफूलाई धोका दिएको भन्दै केही दिनयता प्रचण्ड(नेपाल समूहमा उभिन पुगेका छन्।

पार्टीभित्र शक्ति संघर्ष चर्किँदै गएर गत वैशाख १७ गतेको सचिवालय बैठकमा प्रचण्ड र नेता नेपालले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए। प्रचण्डले त प्रधानमन्त्री ओलीलाई सरकार र पार्टी अध्यक्षबाट राजीनामा दिएर बालकोटमा आराम गरी बस्न सुझाएका थिए।

सचिवालयमा बहुमतमा देखिएको प्रचण्ड(नेपाल समूहलाई फुटाउन प्रधानमन्त्री ओलीले सो बैठकमा वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए। त्यसपछि वामदेव प्रधानमन्त्री ओलीतिर लागेका थिए। सचिवालयको बहुमत प्रधानमन्त्रीको पक्षमा गएको थियो। विवाद बिस्तारै मत्थर भएको थियो।

त्यसपछि पनि प्रधानमन्त्री ओली र प्रचण्ड(नेपालबीच कुनै सहमति र विश्वासको वातावरण बन्न सकेको थिएन। अहिले त्यो असहमतिमा अरू विषय थपिएका छन्( एमसिसी र सरकारले कोरोनासँग लड्न मुलुकको नेतृत्व राम्ररी गर्न नसकेको आरोप।

प्रधानमन्त्री ओली एमसिसी परियोजना पारित गर्न ढिला गर्न नहुने पक्षमा छन्। अर्का अध्यक्ष प्रचण्ड परिमार्जन नगरी पारित गर्न नहुने अडानमा छन्। उनलाई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालको समेत साथ छ।

‘ओलीबाट सरकार र पार्टी दुबै चलेन’

प्रचण्ड र ओलीको सवाल जवाफपछि स्थायी कमिटीमा वरिष्ठ नेता झलनाथ खनाल बोलेका थिए । झलनाथ खनालले स्पष्ट रुपमा प्रधानमन्त्रीको राजीनामा मागेका थिए । बैठकमा बोल्ने पूर्वएमालेका नेताहरु प्रचण्डभन्दा कडा रुपमा प्रस्तुत भएका थिए ।

प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका नेता खनालले ‘हामीलाई भारतको एजेन्ट भन्न खोजेको हो ? भन्ने प्रश्न गरे ।

ओलीले सरकार एकलौटी चलाएको र पार्टी बैठकहरुको पनि उपेक्षा गरेको भन्दै खनालले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट ओलीको राजीनामा मागे । ‘पार्टीले हटाउँछु भन्यो भने केपी कमरेडले त्यसलाई मान्नुपर्छ । तनाशाहले जस्तो बलजफ्ती गर्न पाइँदैन’ उनले बैठकमा भने, ‘लिखित प्रस्ताव ल्याउँ, छलफल गरौं ।’

अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पनि अध्यक्ष ओलीप्रति आक्रामकरुपमा प्रस्तुत भएका थिए । उनले ओलीमा दम्भ, अहंकार र अरुलाई दास बनाउने प्रवृत्ति रहेको र त्यसले नै समस्या भएको बताए ।

मंगलबारको बैठकमा नेता नेपालले भने, ‘ओलीलाई विधि होइन, दास चाहिएको छ । पार्टी होइन, गुट चाहिएको छ ।’ यही कारण पार्टी नियोजितरुपमा विर्सजन गर्न खोजिएको त होइन भन्ने शंका लाग्न थालेको उनले बताएका छन् । उनले अघि भनेका छन्, ‘यो पार्टी साना दुःखले बनाएको होइन, सबैलाई चेतना भया ।’

उपाध्यक्ष बामदेव गौतमले पनि प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा मागे । ओलीले आफ्नो कमजोरी कहिल्यै आत्मसाथ गर्न नसकेको र अहिले पनि त्यो नदेखिएको उनले बताए । गौतमले बैठकमा भने, ‘तपाई पार्टीको सबै ठाउँमा अल्पमतमा पर्नुभएको छ । अल्पमतमा परेपछि स्वतः राजीनामा दिनुपर्ने हो, राजीनामा दिनुस् ।’

प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि भारतले आफ्नो सरकार ढाल्न खोजेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाए । आन्तरिक राजनीति र व्यक्तिगत स्वार्थका लागि कूटनीतिक र परराष्ट्र सम्बन्धमाथि खेलबाड भएको भन्दै उनले आपत्ति जनाए । श्रेष्ठले बैठकमा भने, ‘उहाँलाई त्यस्तो लागेको भए पार्टीमा छलफल गर्नुपथ्र्यो । प्रमाण खोजेर राजदूतलाई बोलाएर सोध्नुपथ्र्यो र देश निकाला गर्नुपर्थ्यो ।’

तर, नेपालको नयाँ नक्सा छापेका कारण हटाउन खोजेको भन्ने प्रधानमन्त्रीको दाबी गलत भएको उनले बताए । भारतले नेपाली भूमिसमेत समावेश गरेर नोभेम्बर २०१९ मा नयाँ नक्सा जारी गरेपछि नेकपा केन्द्रीय समितिले लिम्पियाधुरासहितका भूभाग समावेश गरेर नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको उनले स्मरण गरे । तर सरकारले आनाकानी गरेको भन्दै श्रेष्ठले भने, ‘ नक्साको कुरा नीति तथा कार्यक्रममा पनि थिएन, हामीले सचिवालय बैठकबाट मुख्यसचिवलाई फोन गरेर थप्न लगाएको होइन ?’

साथै नेपालको नयाँ नक्सा नछापिँदै १७ वैशाखको सचिवालय बैठकमा नेताहरुले राजीनामा माग गरेको स्मरण गर्दै उनले प्रधानमन्त्रीको भिव्यक्तिका कारण देश र पार्टी दुबैलाई घाटा लागेको बताएका छन् ।

पार्टी एकतालाई कांग्रेसलाई हराउने र सरकारमा जाने अर्थमा मात्र बुझेका कारण पनि समस्या आएको उनले बताए । प्रधानमन्त्री ओलीमा आफूलाई बम्हज्ञानी ठान्ने, फरक मत राख्नेहरुलाई सत्रु मान्ने, अरुलाई दास बनाउन चाहने, उपयोग गर्ने प्रवृत्ति रहेको भन्दै उनले भने, ‘हिजोसम्म म यो सरकार सफल हुनुपर्छ भन्थेँ तर अब यो भन्न नसक्ने ठाउँमा पुगेको छु । हाम्रो पार्टीको सरकार सफल हुनुपर्छ भन्छु ।’