नेकपा एमाले दल दर्ता प्रक्रिया प्रधानमन्त्रीकै योजनामा हो : बामदेव गौतम

मूलखबर संवाददाता
काठमाडौं, १६ असार ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा नेकपा एमाले नामक दल दर्ता प्रक्रियामा अगाडि बढेको बताएका छन्।

मंगलबारको स्थायी कमिटी बैठक उपाध्यक्ष गौतमले एमाले पार्टी दर्ता प्रक्रिया प्रधानमन्त्री ओलीकै निर्देशनमा भएको बताएका थिए। गौतमले यसबारे गम्भीर छलफल हुनुपर्ने अडान लिएका थिए।

स्थायी कमिटीका एक नेताले भने, “वामदेव गौतमले प्रधानमन्त्रीकै निर्देशनमा एमाले दर्ता गर्न आवेदन दर्ता भएको दाबी गर्नुभयो।” ती नेताका अनुसार, एमाले दर्ता प्रक्रियामा प्रधानमन्त्रीकै निर्देशन रहेको र यसका लागि आफूसँग बयान दिन पर्याप्त आधार रहेको गौतमको भनाइ थियो।

गौतमले बैठकमा प्रवेश गराएको अजेण्डामा जवाफ दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको जवाफ मागेका थिए। तर, जवाफमा प्रधानमन्त्री ओलीले आफू नेकपाकै नेता भएको र यसमा आफ्नो संलग्नता नरहेको बताएका थिए।

१४ असारमा झापाकी सन्ध्या तिवारीले नेकपा एमाले दर्ताका लागि आवेदन दिएकी छन्।
नेकपाको आन्तरिक विवाद चुलिँदै गएको तथा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली सचिवालय र स्थायी समिति दुबैमा भारी अल्पमतमा पर्दै गएर राजीनामा दिन बाध्य पार्ने स्थिति पैदा भएका बेला निर्वाचन आयोगमा एमाले नामको दल दर्ताको लागि प्रक्रिया अगाडि वढाइनु संयोग मात्रै मान्न नसकिने विश्लेषकहरुले बताएका छन् ।

मंगलबारको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले अब प्रधानमन्त्री र अध्यक्ष पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका थिए।

स्थायी कमिटीका अष्टलक्ष्मी, भीम रावल रावल, युवराज ज्ञवाली, वेदूराम भुसाल, रघुजी पन्त, गणेश शाह, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल र भीम आचार्यले बोलेका थिए।