निजी क्षेत्रलाई अख्तियार लगाईँदैन : प्रधानमन्त्री

मूलखबर संवाददाता
काठमाडौं, २८ जेठ

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमी व्यवसायीलाई अप्ठ्यारो पार्ने काम सरकारले नगर्ने बताउनुभएको छ । उहाँले सरकारको नियत उद्योगी व्यवसायीलाई अप्ठ्यारो पार्ने, हतोत्साही बनाउने, असहयोग गर्ने भन्ने नै हुँदैन, यो सरकारले सोच्न सक्ने विषयसमेत होइन भन्नुभयो ।

नेपाल उद्योग परिसङ्घको सत्रौँ वार्षिक साधारणसभालाई सोमबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, अहिलेका साझा समस्यालाई साझा ढङ्गले नै समाधान गर्नुपर्छ । सरकार उद्यमी व्यवसायीको
साथमा छ । सरकारले निजी क्षेत्रलाई अख्तियार लगाउँदैन ।
उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार बढाएर निजी क्षेत्रलाई पनि समावेश गर्नुपर्ने निष्कर्षमा सरकार नपुगेकाले त्यो प्रक्रिया स्थगित गरिएको जानकारी दिनुभयो । निजी क्षेत्रलाई नियमन गर्ने थुप्रै निकाय छँदैछन् भन्दै प्रम ओलीले स्पष्ट पार्नुभयो, अहिले अख्तियार ल्याउनु आवश्यक छैन । यसलाई सरकारले अघि बढाउँदैन ।

राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्र र सरकारको छुट्टाछुट्टै तर समपूरक भूमिका निर्वाह गरेको टिप्पणी प्रधानमन्त्री ओलीको थियो । निजी क्षेत्र उत्पादन, वितरण, व्यापार, आयात, निर्यात जस्ता गतिविधि गरेर अर्थतन्त्र, राजस्वमा योगदान गर्ने र सरकारले त्यसको उचित नियमन, रेखदेख र निजी क्षेत्रको योगदानलाई सदुपयोग गरेर देश विकासको प्रयासमा लाग्ने उहाँको भनाइ थियो ।

कोरोनाले परेको घाटा तथा कठिनाइ समीक्षा गर्न निजी क्षेत्रलाई आग्रह गर्नुहुँदै प्रधामन्त्री ओलीले आफ्ना क्षेत्रगत हित मात्र नसोचेर समग्र राष्ट्रिय अर्थतन्त्रमा हित गर्नेगरी निष्कर्ष निकाल्न साधारण सभालाई आग्रह गर्नुभयो । उहाँले निजी क्षेत्रका विभिन्न सङ्गठन रहे पनि समस्याका विषयमा साझा दृष्टिकोण र पहल आवश्यक हुने आँल्याउनुभयो ।