पैसाकाे लाेभले निम्त्याएको विनास ! बुहारी हत्यामा परिवारका ४ जना संलग्न

मूलखबर संवाददाता
काठमाडौं

हेटौँडा– ४ स्थित कर्रानिवासी सुस्मिता क्षेत्री थापाको हत्या अभियोगमा पक्राउ चारजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन गर्दै प्रहरीले सुस्मिता हत्याकाण्डमा संलग्न रहेका एकाघरका ससुरा प्रकाश थापा, सासू तुलसा थापा, नन्द सीता थापा र जेठी नन्द दुर्गा थापा कार्कीलाई सार्वजनिक गरेको हो । २ असारमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी सुस्मिताको हत्यामा ससुरा, सासू, नन्द र जेठी नन्दको संलग्नता देखिएको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख एसपी सुशीलसिंह राठौरले आर्थिक प्रलोभनमा परेर परिवारकै सदस्यहरूको संलग्नतामा सुस्मिताको हत्या भएको बताए । २३ असोज २०७६ मा कपिलवस्तुस्थित ससुरालीबाट फर्कने क्रममा सुस्मिताका पति रुपेन्द्र थापाको सवारी दुर्घटनाबाट मृत्यु भएको थियो । एसपी राठौरका अनुसार सुस्मिताका पति रुपेन्द्रको मृत्युपछि उनले पाउने रकमबारे परिवारभित्र विवाद भइरहेको अनुसन्धानबाट खुलेको छ ।

रुपेन्द्रको मृत्युपछि उनले पाउने सवारी दुर्घटनाबापतको रकम, उनी कार्यरत क्लोजर सिस्टम इन्टरनेसन नेपाल प्रालिबाट पाउने सेवासुविधा, सामाजिक सुरक्षा कोष र बिमा रकम कसले लिने भन्नेबारे परिवारमै विवाद भएको देखिन्छ,’ एसपी राठौरले भने, ‘रुपेन्द्रको मृत्युपछि सुस्मितालाई परिवारले बारम्बार रकम लिनेदिनेबारे मानसिक यातना र सँगै ससुरा प्रकाशले यौन दुर्व्यवहारसमेत गरेको खुलेकाे छ ।’

आर्थिक कारणसँगै ससुरा प्रकाशले आफ्नी बुहारी सुस्मितामाथि यौन दुर्व्यवहार गरेका कारण घटना बाहिरिने भन्दै यसलाई साम्य पार्न हत्याको योजना बनाइएको अनुसन्धानबाट खुल्न आएको राठौरले बताए ।