स्वास्थ्यकर्मी सरुवाविरुद्ध स्थानीयद्धारा सिद्धलेक गाउँपालिका घेराउ

विवेक अर्याल
धादिङ

लामो समयदेखि काम गरिरहेका स्वास्थ्यकर्मीको अन्यायपूर्ण ढंगले सरुवा गरेको भन्दै धादिङको सिद्धलेक गाउँपालिका ६ कुम्पुरका स्थानीय विरोधमा उत्रिएका छन् ।

कुम्पुर स्वास्थ्य चौकीका अहेव मोहम्मद रकिम अन्सारीलाई जनचाहना विपरित गाँउपालिकाका जनप्रतिनिधिले अनावस्यक सरुवाको कदम चालेको भन्दै आइतबार स्थानीयले त्यसको बिरोध गरेका हुन् । स्वास्थ्य चौकी प्रमुख अन्सारीलाई प्रतिसोध साँधेर अन्यायपूर्ण तवरबाट अन्यत्र सरुवा गरिएको भन्दै विरोध स्वरुप स्थानीयबासीले गाँउपालिका कार्यालय समेत दिनभर घेराउ गरेका हुन् ।

विगत २५ बर्षअघीदेखी सेवा दिइरहेका अहेव अन्सारीलाई स्थानियको चाहना विपरित अन्यत्रै पठाएर स्वास्थ्य चौकीमा अन्यौलता सिर्जना गरेको भन्दै गाउँपालिका घेराउ गरिएको स्थानियवासीले बताएका छन् । ‘बर्षौ सेवा दिएको मान्छेलाई व्यक्तिगत रुपमा प्रतिसोध साँधेर जनचाहना विपरित गाँउपालिका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत तथा स्वास्थ्य संयोजकको मिलेमतोमा अन्यत्र सरुवा गरिएको छ, उनीहरुले जनताको भावना अनुसार काम गर्ने भन्दै पाएका मतको चरम दुरुपयोग गरेका छन् । जनप्रतिनिधि र कर्मचारीको एकल निर्णय जनचाहना विपरीत छ, त्यसैको विरोध स्वरुप धर्ना दिएका हौँ ।’ औषधी ब्यवसायी समेत रहेका स्थानिय रञ्जित सिलवालले बताए ।

औषधी ब्यवसायी सिलवाललका अनुसार अहेव अंसारीलाई गाँउपालिका अध्यक्ष प्रेमनाथ सिलवाल, प्रमुख प्रशासकिय अधिकृत धनेश्वर पौडेल र स्वास्थ्य संयोजक राम प्रसाद सिलवालले व्यक्तिगत रुपमा प्रतिसोध साँधेर सरुवा गरेका हुन् ।

अहेव अंसारी २५ वर्षअघिदेखि सिद्धलेक ६ स्थित् कम्पुर स्वास्थ्य चौकीका इन्चार्जको रुपमा कार्यरत् छन् । उनले गत वर्षको कर्मचारी समायोजनमा सिद्धलेक गाउँपालिका नै रोजेका थिए । मन्त्रालयबाट सिद्धलेक गाउँपालिकामा समायोजन भएको पत्र ल्याएर बुझाएपछि आफूलाई प्रतिसोध साँधेर काम गरिरहेको ठाउँ भन्दा अन्यत्रै पठाएको भन्दै उनी गाँउपालिकाले खटाएको स्थानमा भने गएका छैनन् ।

‘स्वास्थ्य चौकी प्रमुखले भ्रष्टाचार गरेकाले सरुवा गरेको भनेर गाउँपालिकाका जनप्रतिनिधी र गाँउपालिकाकै उच्च तहका कर्मचारीले भनेका छन्,’ ‘मैले भ्रष्टाचार गरेको भए कारवाही गर्ने की अन्तै सरुवा गरेर उन्मुक्ती दिने ? अहेव अंसारीले प्रश्न गरे । उनले आफूलाई स्पष्टिकरण सोध्ने समेत नगरी सरुवा गरिएकोमा आपत्ति जनाएका छन् । अहेव अंसारीले ब्यक्तिगत् प्रतिसोध साँधेर अवहेलना गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोग जाने समेत बताए ।

स्वास्थ्य चौकिमा स्वास्थ्यकर्मी कम छन्, त्यही पनि अर्को ब्यवस्था नगरि एकैपटक हटाउन पाइदैन भनेर गाउँपालिका घेराउ गरेको स्थानियहरुले बताएका छन् ।  सिद्धलेक गाँउपालिकाले भने अहेव अंसारीले लामो समयसम्म एकठाउँमा काम गरेर स्वास्थ्य चौकी र व्यवस्थापन भद्रगोल बनाएका कारण अन्यत्रै खटाएको बताएको छ ।

गाँउपालिका अध्यक्ष प्रेमनाथ सिलवालले स्थानीयबासीको आवरणमा घुसपैठ गरी गाउँपालिका विरोधीहरु गाउँपालिका घेर्न आएको र अंसारीलाई हटाइएको बहानावाजी गरीएको मात्रै भएको बताए ।

गाउँपालिकाले अंसारीलाई गत ०७६ साल माघमै नलाङ स्वास्थ्य चौकीमा खटाएको तथा अंसारीले गाउँपालिकालाइ नटेरेर यत्तिका समय बसेको र अहिले जनता उचालेर आन्दोलन गर्नुमा पक्कै पनि बाहिरी तत्वहरुको स्वार्थ रहेको समेत सिलवालले बताए ।
प्रमुख प्रशासकिय अधिकृत धनेश्वर पौडेलले भने यस बिषयमा पछि बोल्छु भन्दै पन्छिए । ।

सिद्धलेक गाँउपालिकाले कुम्पुर स्वास्थ्य चौकीका अहेव मोहम्मद रकिम अन्सारीलाई मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरेसंगै जनप्रतिनिधी र राजनितीक दलमा समेत बिवाद उत्पन्न भएको थियो ।

अन्सारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयवाट गत ०७६ साल साउनमा सि.अहेव.छैटौँ तहका अधिकृतको रुपमा समायोजन भएका थिए भने उनले सिद्धलेक गाँउपालिका नै रोजेका थिए । तर समायोजन भई आएका अंसारीलाई गाँउपालिकाले भने गत ०७६ साल कार्तिक २५ गते नलाङ स्वास्थ्य चौकिमा पदस्थापन गर्ने निर्णय गरेको थियो । सो निर्णय गरेसंगै गाँउपालिकाका जनप्रतिनिधी र सत्तासिन दल नेकपा तथा प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत त्यसको विरोध गरेको थियो । राजनैतिक दलका नेताहरुले समेत जनप्रतिनिधीहरुले शक्तीको चरम दुरुपयोग गरेको भन्दै त्यसको बिरोध गरेका छन् ।