याेग गुरु रामदेवविरूद्व अदालतमा फेरि मुद्वा दर्ता

मूलखबर संवाददाता
काठमाडौं

भारतमा सरकारको स्वीकृति विना नै कोभिड १९ को औषधि भन्दै आयुर्वेदिक औषधि सार्वजनिक गरेकोमा भारतीय योग गुरु रामदेवविरुद्ध मुद्दा दर्ता भएको छ ।

राजस्थान प्रहरीमा रामदेवविरुद्ध यही शनिबार मुद्दा दर्ता भएको उच्च अधिकारीले जानकारी दिएका छन् । रामदेवसँगै आचार्य बालकृष्ण, बिएस तोमर, तोमरका छोरा अनुराग तोमर र वरिष्ठ वैज्ञानिक अनुराग भर्सनेमाथि पनि मुद्दा दायर भएको छ ।

हरिद्धारस्थित पतञ्जली आयुर्वेदले कोभिड १९ विरुद्धको औषधि भन्दै मंगलबार ‘कोरोनिल’ नामको एक आयुर्वेदिक औषधि सार्वजनिक गरेको थियो । पतञ्जलीको अर्को उत्पादनको रुपमा सार्वजनिक गरिएको भन्दै कोभिड १९ का बिरामीलाई त्यसले निको हुने दावी रामदेव लगायतको थियो । योगगुरु रामदेवविरुद्ध अन्य विभिन्न प्रहरी कार्यालयमा ठगी लगायत विभिन्न प्रकृतिका मुद्दा दायर भएका छन् ।