सिमा क्षेत्रका सैनिकलाई मार्शल अार्ट तालिम दिँदै चीन

मूलखबर संवाददाता
काठमाडौं

चिनले सिमा क्षेत्रमा तैनाथ गरिने सैनिकलाई मार्शल अार्ट तालिम दिन लागेकाे छ ।

भारतसँगको सीमामा झडप भएपछि चीनले आफ्ना सैनिकलाई प्रशिक्षण दिन २० जना मार्सल आर्ट प्रशिक्षकलाई तिब्बत पठाएको जनाएको छ । आधिकारिक प्रतिक्रिया नजाइए पनि सो निर्णय भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा भएको हिंसापछि चालिएको कदम हो ।

दुई देशका सेनाबीच सीमाक्षेत्रमा दुई साताअघि भएको भीडन्तमा कम्तीमा २० भारतीय सेनाको मृत्यु भएको थियो । घटनामा ७६ जना भारतीय सैनिक घाइते भएका थिए । चीनले भने हालसम्म आफ्नो तर्फको क्षतिको विवरण सार्वजनिक गरेको छैन । सन् १९९६ मा गरिएको एक सम्झौता अनुसार सीमा क्षेत्रमा खटिएका भारत र चीनका सेनाले बन्दुक, बम वा विस्फोटक पदार्थ बोक्न पाउदैनन् । उक्त भिडन्तमा चिनिया पक्षले घरेलु हतियारको प्रयोग गरेको जनाइएको छ ।

हङकङका सञ्चार माध्यमका अनुसार मार्सल आर्ट प्रशिक्षक खटाइने समाचार चीनका आधिकारिक सञ्चार माध्यमले जुन २० तारिखमा उल्लेख गरेका थिए । सरकारी प्रसारक सीसीटीभीका अनुसार एन्बो फाइट क्लबका २० जना प्रशिक्षक तिब्बतको राजधानी ल्हासामा पठाइएको हो ।

तर ती प्रशिक्षकले सीमा क्षेत्रमा खटिएका सैनिकलाई प्रशिक्षण दिने वा नदिने विषयमा भने सीसीटीभीले कुनै जानकारी सार्वजनिक गरेको छैन । आणविक हतियारसम्पन्न भारत र चीनबीच जुन १५ मा लद्दाखको गलवान उपत्यकामा हिंसात्मक भिडन्त भएको हो । उक्त घटनाप्रति दुवै देशले एक अर्कालाई आरोप लगाउंदै आएका खबर कान्तिपुरले छापेकाे छ ।