सरकारी प्रतिवेदन फेल : नेपालमा आयो सलह, पुर्व र पश्चिम दुबैतिर फैलियो एकैसाथ
नेपालमा सलह भित्रिन नसक्ने सरकारी प्रतिवेदनलाई फेल गराउँदै नेपालमा शनिवार सलहको हुल प्रवेश गरेको छ । शनिबार एकाबिहानै बुटवलस्थित नेपाली सेनाको गरुड दलको ब्यारेक वरपर एकैसाथ असङ्ख्य नयाँ कीरा देखिए । गणका प्रमुख सेनानी ज्योतिकुमार थापाका अनुसार एकाएक गन्नै नसकिने कीरा देखिएपछि विषादी हालेर मार्न खोजियो । सलह तिनै थिए ।
त्यसैगरी पुर्वी नेपालको बारा पर्सा हुँदै मकवानपुर र काभ्रेतर्फ पनि सलह प्रवेश गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा गठित टास्क फोर्सको शनिबार बसेको बैठकले नेपालमा देखिएको सलह मरुभूमि सलह भएको निर्क्योल गरेको छ । टास्क फोर्सले प्रदेश सरकार र स्थानीय तहहरुलाई सक्रिय भएर लाग्नुपर्ने निर्णय गर्दै मन्त्रालयलाई आफ्नो राय दिएको छ । प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईंले अहिले विज्ञ टोलीले किरा कतातिर जान्छ र यसको संख्या कति छ भन्ने याकिन जानकारी नभएकाले केही भन्न सकिने अवस्था नरहेको बताए ।
संयोजक हुमागाईंले भने, अहिले यो किरा कता जान्छ र बस्छ भन्न सकिने अवस्था नै छैन । हावाको बहावअनुसार यो जाने हो । बिहान पर्सामा देखिएको किराको झुण्ड उडान भरेर सिन्धुली पुगेका छन् ।
किट विज्ञहरुका अनुसार शनिबार सलहको उडान हेर्दा उनीहरु एक ठाउँमा नबस्ने भएकाले दुई घन्टाअघि देखिएका स्थानहरुमा नभेटिने गरेको पाइएको छ । विज्ञहरुले सलह बसेका स्थानहरुमा ठूलो नोक्सानी पनि नदेखिएको बताएका छन् ।
नेपालमा देखिनु असामान्य : पाकिस्तानी विज्ञ
शनिबार दिउँसो गठित टास्क फोर्सको भर्चुअल बैठकमा नेपालमा सलह देखिनुलाई पाकिस्तानी विज्ञले असामान्य अवस्था भनेको हुमागाईंले कान्तिपुरलाई बताए । कृषि विज्ञ तथा वैज्ञानिकहरुसहित सरोकारवालाहरुसँगको छलफलमा पाकिस्तानी विज्ञले नेपालमा सलह देखिनु असामान्य अवस्था भएको बताएको उनले बताए । ्
हावाले बगाएर सलह यतिकै संख्यामा छन् भन्ने अवस्था ठ्याक्कै भन्न नसकिएको उनले बताए । सलह सानोसानो झुन्डमा आएको र नेपालको वातवरण सलहका लागि उपयुक्त बासस्थान पनि नभएको विज्ञहरुले उक्त बैठकमा बताएका थिए । हावाको बहावका कारण नेपाल प्रवेश गरे पनि यी किराहरु पुनः त्यसतर्फ फर्कन नसकेको विज्ञहरुले बताएका छन् ।
कीट वैज्ञानिकहरु नेपालमा सलह प्रवेश गर्ने सम्भावना अत्यन्त न्यून रहेको बताए पनि ुमौसमी परिस्थितिुले सलहलाई नेपालतर्फ उडाएर ल्याएका बताएका छन् । उनीहरुले सलहले यति नै क्षति गर्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताएका छन् ।
विषादी छर्कन सक्ने अवस्था छैन,थाल ठटाऔ
प्राविधिक कार्यदलका संयोजक हुमागाईंले विषादी छर्केर सलह मार्न सक्ने सम्भावना नरहेको र राति सलहको झुन्ड देखे थाल ठट्टाएर भगाउन सुझाव दिएका छन् । उनले भने,यिनीहरु अहिले फैलिरहेका छन् । राति घरवर आएर बसेको देखे थाल ठटाएर भगाउन सकिने कुरा हामीलाई पाकिस्तानी विज्ञले सुझाव दिएका छन् । अहिले त्यही गर्न मात्रै हामी भन्न सक्छौं ।
घर वरिपरि सलह देखिए विज्ञहरुले स्टिलको भाँडा बजाएर भगाउन विकल्प दिएका छन् । त्यस्तै धुँवाको सहयोगमा पनि सलहलाई भगाउन सकिने विज्ञहरुको सुझाव छ ।
सलह एक ठाउँबाट अर्को ठाउँमा गइरहेकाले अहिले विषादी हालेर मार्न सम्भव नभएको पनि हुमागाईंले बताएका छन् । उनले धेरै ठूलो समूह र एकै ठाउँमा भेटिएको अवस्थामा मात्रै विषादी हालेर मार्न सकिने बताए । हाल प्राविधिक टोलीले फिल्डबाट संकलन भएका घटनाहरुको आधारमा यसको अवस्था र बसाइबारे जानकारी लिने काम गरिरहेको छ ।
दिउँसो हावाको बहावसँगै उड्ने भएकाले यसको नियन्त्रणका लागि कन्ट्रोल मेकानिजम फ्याक्ट सिट बनाएर किरालाई भगाउने किट विज्ञहरुले बताएका छन् ।
प्रतिकिलो २० रुपियाँका दरले खरिद गर्ने प्रदेश ५ को निर्णय
भारतमा किसानको बाली सखाप पारिरहेको सलह नेपालको रुपन्देहीमा भेटिएपछि प्रदेश सरकार यसको नियन्त्रणमा जुटेको छ । सलह भेटिएपछि अब कसरी अघि बढ्ने भन्ने बारेमा प्रदेश–५ सरकारले आन्तरिक गृहकार्य थालेको हो । शनिबार साँझ आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बैठक बसी सलह नियन्त्रण गर्न आवश्यक रणनीति तय गरेको छ ।
बैठकमा सहभागी प्रदेश–५ को कृषि विकास निर्देशनालयका प्रमुख देवकोटाका अनुसार शनिबारैदेखि किसानलाई सचेत गराउन प्रचारप्रसार गर्ने निर्णय गरिएको छ । त्यस्तै सलह किसान आफैँले जम्मा गरेर आफ्नो वडा कार्यालयमा लगे प्रतिकिलो २० रुपियाँका दरले खरिद गर्ने निर्णय पनि बैठकले गरेको देवकोटाले बताउनुभयो ।
यस्तै आकस्मिक निर्णय बुुटवल उपमहानगर पालिकाले पनि गरेको छ । प्रमुख शिवराज सुवेदीका अनुसार सलह नियन्त्रणमा प्रोत्साहन गर्न जम्मा गरेर बुझाउनेलाई पुरस्कृत गरिनेछ । सलह कपिलवस्तु, पाल्पा, गुल्मी लगायतका जिल्लामा पुगेको छ ।