लकडाउनमा २३४ अन्तराष्ट्रिय उडान, २५ हजारको आवतजावत

मूलखबर संवाददाता
काठमाडौं, १३ असार

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम गर्न नेपालमा गत चैत ११ गतेदेखि लागु गरिएको लकडाउनको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २३४ अन्तराष्ट्रिय उडान भएका छन् ।

लकडाउनको ९६ औं दिनमा दिइएको जानकारी अनुसार तीन महिनाको अवधिमा यात्रु चार्टर्र्ड तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रुहरु अन्तराष्ट्रिय विमानस्थलबाट आवत जावत भएको विमानस्थलले जनाएको छ ।

यी उडानबाट ११ हजारभन्दा बढी यात्रु नेपाल आएका छन् भने १३ हजार यात्रु नेपालबाट बाहिरिएका छन् ।

विमानस्थल कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार बन्दाबन्दीको अवधि चैत ११ देखि असार १२ गतेसम्म कार्गो र चार्टर्र्ड गरी २३४ अन्तराष्ट्रिय उडान भएका हुन् ।

यी उडानबाट ११ हजार २८२ यात्रु र ३३ बच्चा नेपाल आएका छन् भने नेपालबाट १३ हजार १०३ यात्रु तथा २५६ बच्चा बाहिरिएका छन् । यो अवधिमा विभिन्न मुलुकबाट चार लाख ९२ कार्गो नेपाल आएको छ । नेपालबाट पनि ४१ लाख ७२ हजार ७७ केजी कार्गो विभिन्न मुलुक गएको जनाइएको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले मात्रै कार्गो चार्टर्र्ड र यात्रु चार्टर्ड गरी ५१ उडान गरेको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार निगमको २८ चार्टर्र्ड तथा सरकारको समन्यवमा विभिन्न मुलुकबाट नेपाली फर्काउन मात्रै २३ उडान भएका छन् ।

लकडाउनको असाधारण परिस्थितिमा निगमले एकैदिन आठ अन्तराष्ट्रिय उडान गरेको छ । नेपालमा अझै लकडाउन जारी छ र नियमित अन्तराष्ट्रिय र राष्ट्रिय उडान बन्द नै छ ।