चिनले नेपाली सिमा अतिक्रमण गरेको छैन : परराष्ट्र मन्त्रालय

मूलखबर संवाददाता
काठमाडौं, १२ असार ।

सरकारले उत्तरी छिमेकी चिनले नेपाली भूमि नमिचेको बताएको छ। विभिन्न सञ्चारमाध्यममा चिनले नेपालको उत्तरी सिमा अतिक्रमण गरेको भनेर समाचार आएपछि परराष्ट्र मन्त्रालयले यसबारे आधिकारीक प्रतिक्रिया दिएको हो ।

दुई मित्रवत् छिमेकीको सम्बन्धलाई असर पार्ने यस्ता संवेदनशील विषयमा समाचार लेख्नुअघि सम्बन्धित अधिकारीहरूसँग पुष्टि गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

चिनले विभिन्न ठाउँमा नेपाली सीमा मिचेको समाचार आएको र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभामा सोही विषय संकल्प प्रस्ताव दर्ता गरेको सन्दर्भमा परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै चीनले सीमा अतिक्रमण गरेको कुरामा सत्यता नभएको बताएको हो।

परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘समाचारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रतिवेदनलाई आधार बनाइएको भनिएको छ। उक्त मन्त्रालयले त्यस्तो कुनै प्रतिवेदन नै अस्तित्वमा नरहेको बताएको छ र सीमाको विषय उक्त मन्त्रालयको क्षेत्राधिकारमा पनि पर्दैन,’ मन्त्रालयले भनेको छ,‘३७ र ३८ नम्बरका सीमा पिलर हराएको भन्ने पनि आएको छ। तर ती पिलर प्राकृतिक कारणले दुबै देशको सहमतिमा राख्दै राखिएको थिएन।’

यदि दुई देशबीच कुनै समस्या देखिए सरकारले सम्बन्धित अधिकारीहरूसँग वार्ता गरेर समाधान निकाल्ने मन्त्रालयको भनाइ छ।
यस अघि नेपालको दक्षीणी सिमा र उत्तर पश्चिमी सिमामा भारतीय अतिक्रमण भएको प्रमाणीत गर्दै परराष्ट्र मन्त्रालयले पटक पटक विज्ञप्ति जारी गरेको थियो ।

नेपालको सिमामा चिनले अतिक्रमण गरेको भन्दै भारतीय मिडियाहरुले लगातार समाचार बजाईरहेका छन् ।